Sunday 18th of October | २०८३ कार्तिक २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २ आइतबार | रासस/सिन्ह्वा

‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताउनुभएको छ ।
    
    इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५२औँ सत्रका क्रममा आइतबार इरानको सरकारी समाचार संस्था इर्नासँगको अन्तर्वार्तामा उहाँले उक्त जानकारी दिनुभएको हो ।
    
    अराघचीका अनुसार, शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न र ‘स्ट्रेट अफ होर्मुज’ पुनःखोल्न इरानले राखेका सर्त स्पष्ट छन् । ती सर्त समेटिएको सातदिने योजना अमेरिकासमक्ष प्रस्तुत गरिसकिएको उहाँले बताउनुभयो ।
    उहाँका अनुसार, अमेरिकाले योजनाबारे आफ्नो धारणा प्रस्तुत गरिसकेको छ र त्यसको अहिले इरानले समीक्षा गरिरहेको छ ।
    
    “इरानको योजना अझै पनि छलफलको टेबुलमा छ”, अराघचीले भन्नुभयो । अमेरिकाले इरानका सर्त पूरा गरे छैटौँ दिनमा ‘स्ट्रेट अफ होर्मुज’ पुनःखोलिने र सातौँ दिनमा वार्ता पुनःसुरु हुने उनको भनाइ छ ।

    इरानका सर्त असाधारण नभएको उल्लेख गर्दै उहाँले ती सर्त शान्तिसम्बन्धी समझदारीपत्र (एमओयु) तथा अन्य वार्ताका क्रममा अमेरिकाले यसअघि नै स्वीकार गरेका प्रतिबद्धतासँग सम्बन्धित रहेको दाबी गर्नुभयो ।
    
    अराघचीले इरान कुनै पनि धम्कीका अगाडि नझुक्ने र आफ्नो रक्षा गर्न तयार रहेको बताउनुभयो । यद्यपि, उहाँले समस्या समाधानका लागि कूटनीतिक मार्ग अपनाउन पनि इरान इच्छुक रहेको स्पष्ट पार्नुभयो ।
    
    यसैबीच, इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानको राजधानी तेहरानसहित अन्य सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । साथै, इरानले ‘स्ट्रेट अफ होर्मुज’मा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो ।
    
    युद्धरत पक्षहरूबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रमा जारी युद्धलाई सबै मोर्चामा अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
    
    उक्त समझदारीअनुसार, इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विषयमा अन्तिम सहमतिमा पुग्न दुवै पक्षले ६० दिनभित्र वार्ता गर्ने तय गरेका थिए । उक्त समयसीमा अगस्ट १७ मा समाप्त भए पनि दुवैपक्ष सम्झौतामा पुग्न पर्याप्त प्रगति गर्न असफल भएका थिए ।
    
    ‘स्ट्रेट अफ होर्मुज’ विश्वको प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हो । यस क्षेत्रमा उत्पन्न तनावले अन्तरराष्ट्रिय तेल आपूर्ति तथा विश्व ऊर्जा बजारमा असर पार्नसक्ने भएकाले होर्मुज पुनःखोल्ने विषयलाई अन्तरराष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan