विद्यालयको छत खस्दा ३५ जनाको मृत्यु, निरीक्षण गर्न आदेश
पेसावर, पाकिस्तान, ३० असोज :
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विद्यालयको छत खस्दा ३४ बालबालिका र एक शिक्षकको मृत्यु भएपछि सरकारले प्रान्तभरिका सबै निजी विद्यालयका भवन निरीक्षण गर्न आदेश दिएको छ । मृतकका आफन्तले भवन कमजोर भएको र दुर्घटनाअघि नै विद्यालय सञ्चालकलाई सचेत गराएको बताएका छन् ।
प्रान्तीय सरकारले बिहीबार अल–खैर विद्यालयको छत खस्नुको कारणबारे अनुसन्धान थालेको छ । प्रहरीले विद्यालय सञ्चालक मोहम्मद खानलाई पक्राउ गरेको छ । पेसावरका प्रहरी प्रमुख सईद अहमदका अनुसार भवन संरचनात्मक रूपमा कमजोर थियो । सञ्चालकले हालैको वर्षाले छत कमजोर बनाएको बताएका थिए ।
सरकारी आदेशअनुसार जिल्लास्तरीय समितिले तीन दिनभित्र विद्यालयका भवन निरीक्षण गरी प्रतिवेदन बुझाउनुपर्नेछ । निरीक्षणमा छत, पर्खाल, खम्बा, दलिन र जगलगायत संरचनाको अवस्था जाँच गरी भवन सुरक्षित, मर्मत गर्नुपर्ने वा असुरक्षित रहेको वर्गमा छुट्याइनेछ । आफ्नै स्वामित्वमा रहेका र भाडामा लिइएका दुवै प्रकारका भवन निरीक्षण गरिनेछ ।
आपत्कालीन सेवाका प्रवक्ता बिलाल फैजीका अनुसार उद्धारकर्मी सूचना पाएको पाँच मिनेटभित्र घटनास्थल पुगेका थिए । भग्नावशेषबाट कम्तीमा ४० बालबालिकालाई जीवितै उद्धार गरिएको थियो । माटो र इँटाले बनेको छत खस्दा केही बालबालिकाको निसास्सिएर मृत्यु भएको उहाँले बताउनुभयो ।
घाइते शिक्षिका महविश जमानले माथिल्लो तलाबाट ठूलो आवाज आएको केही क्षणमै छत खसेकाले विद्यार्थीलाई भाग्न चेतावनी दिनसमेत नभ्याएको बताउनुभयो । अस्पतालमा होस खुलेपछि आफ्ना धेरै विद्यार्थीको मृत्यु भएको थाहा पाएको उहाँले बताउनुभयो ।
दुर्घटनामा दुई भतिजा गुमाउनुभएका मोहम्मद जमानले कक्षाकोठामा वर्षाको पानी चुहिने समस्याबारे विद्यालय सञ्चालकलाई पटकपटक जानकारी गराएको बताउनुभयो । उहाँका नौ वर्षीय भतिजा अब्दुल र १० वर्षीय अबुजरको मृत्यु भएको थियो । अबुजरकी बहिनी सामिया मिठाई किन्न बाहिर गएकाले जोगिएकी थिइन् ।
त्यस्तै, जाकिर उल्लाले एउटै कक्षामा पढ्ने आफ्ना दुवै छोरा गुमाउनुभएको छ । उहाँकी छोरीले दुर्घटनाबारे घरमा खबर गरेपछि परिवार विद्यालय पुगेको थियो । त्यहाँ छोराहरूको कक्षाकोठा भग्नावशेषले पुरिएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । भवन कमजोर हुँदाहुँदै विद्यालय सञ्चालन गर्न अनुमति दिने अधिकारीलाई समेत कारबाही गर्न उहाँले माग गर्नुभयो ।

