रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ
वीरगञ्ज (पर्सा), २९ असोजः प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाई बिचौलियाको कार्यमा संलग्न सर्लाही घर भई हाल काठमाडौँ डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रवीण साहलाई आज वीरगञ्जबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बिचौलिया साहले ‘आफू सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको र भन्सार कार्यालयको एजेन्टसँग आफ्नो राम्रो चिनजान छ’ भनी सर्वसाधारणलाई झुक्याई लिलाम बिक्री साकार गर्न तयार भएका व्यक्तिलाई विभिन्न आश्वासन दिई विभिन्न बैङ्क खातामा रकम जम्मा गर्न लगाई तत्पश्चात् सम्पर्कविहीन भएका थिए ।
उहाँका अनुसार निजलाई वीरगञ्ज महानगरपालिका-८ घण्टाघरस्थित प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरी कानुनबमोजिम म्याद थप भई अनुसन्धान अगाडि बढाएको छ । बिचौलिया कार्यमा संलग्न रहेका अन्य व्यक्तिको पहिचान गर्ने कार्यका लागि प्रहरी कार्यालयबाट विशेष निगरानी र आवश्यक प्रमाण सङ्कलन कार्य भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बिचौलियाको काम गर्ने व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आउने भएकाले बिचौलिया काम गर्ने व्यक्तिको विश्वासमा नपर्न, सम्पर्कमा नबस्न तथा बिचौलियाको काम गर्ने व्यक्तिहरुको सम्बन्धमा कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन पनि सर्वसाधारणमा जानकारी गराइन्छ ।”

