जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
बोचम (जर्मनी), २९ असोज : जर्मनीको बोचममा अपार्टमेन्ट भवनमा भएको आगलागीमा दुई महिला र एक पुरुष गरी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमा बस्ने ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बर्लिनस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उत्तरी राइन–वेस्टफालिया राज्यको बोचममा भएको आगलागीमा तीन भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतक तीनै जना जर्मनीमा अध्ययनरत थिए ।
दूतावासका अनुसार, बर्लिनस्थित भारतीय दूतावास र फ्रान्कफर्टस्थित भारतीय महावाणिज्य दूतावास स्थानीय अधिकारी तथा मृतकका परिवारसँग सम्पर्कमा छन् । उनीहरूले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेका छन् । दूतावासले शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।
मृतकहरू २५ र २७ वर्षका दुई महिला तथा २६ वर्षीय एक पुरुष रहेको प्रहरीले जनाएको छ । जर्मन प्रहरी र अभियोजनकर्ताका अनुसार, आगलागीको कारण पत्ता लगाउन गरिएको विस्तृत अनुसन्धानले प्राविधिक त्रुटिको सम्भावना अस्वीकार गरेपछि ४१ वर्षीय बासिन्दामाथि शङ्का बढेको हो ।
सन्दिग्ध व्यक्तिसँग हत्या अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूले सोधपुछ गरेका छन् । बोचम अभियोजन कार्यालयको निर्देशनमा थप अनुसन्धान भइरहेको छ ।
एनाडोलु समाचार एजेन्सीले जर्मनीको सार्वजनिक प्रसारक एनडिआरलाई उद्धृत गर्दै आगलागी हुनुभन्दा एक दिनअघि भवनमा विवाद भएपछि प्रहरी बोलाइएको जनाएको छ । उक्त भवनमा यसअघि पनि पटकपटक घटना भएपछि प्रहरी पुगेको समाचारमा उल्लेख छ । यद्यपि, प्रहरीले यसअघिका घटनाको आगलागीसँग सम्बन्ध नरहेको जनाएको छ ।
आगलागीको वास्तविक कारण र घटनासँग सम्बन्धित अन्य परिस्थितिबारे जर्मन अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

