Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस-एएफपी)

बैंकक, २९ असोज : मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ऊर्जा सम्पन्न मध्यपूर्वी देशहरूको अर्थतन्त्रमा सुधार आउन समय लाग्ने जनाएको छ ।

युद्धले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्ने भएकाले अर्थतन्त्र तत्काल युद्धअघिको अवस्थामा फर्कन नसक्ने आईएमएफका क्षेत्रीय निर्देशक जिहाद अजोरले बिहीबार बताउनुभएको छ ।

इरानबाट सुरु भएको युद्ध साउदी अरब र यमनसम्म फैलिँदा क्षेत्रीय सुरक्षा र आर्थिक गतिविधिमा असर परेको छ । विशेषगरी समुद्री मार्गबाट हुने ऊर्जा ढुवानी प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत चिन्ता बढेको छ ।

अजोरका अनुसार युद्धका कारण विभिन्न आर्थिक क्षेत्रमा दीर्घकालीन क्षति पुग्ने, पूर्वाधार प्रभावित हुने र भविष्यमा यस्ता संकट सामना गर्न थप खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

त्यसैले मध्यकालमा मध्यपूर्वका अर्थतन्त्र युद्धअघिको अवस्थामा फर्कने सम्भावना कम रहेको उहाँले बताउनुभएको छ ।“हामी मध्यकालमा युद्धअघिको आर्थिक अवस्थामा फर्कने छैनौँ । यो संकटले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्नेछ, पूर्वाधारमा अवरोध सिर्जना गर्नेछ र भविष्यमा थप जोखिम सामना गर्न खर्च बढाउनुपर्नेछ,” अजोरले पत्रकारहरूसँग भन्नुभयो ।

आईएमएफले मंगलबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०२६ मा मध्यपूर्व र मध्य एसियाको अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ । इरान युद्धको प्रत्यक्ष असर परेका यी क्षेत्रमा आर्थिक गतिविधि कमजोर हुने देखिएको छ ।

साउदी अरबको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने अनुमान गरिएको छ । आईएमएफका अनुसार सन् २०२६ मा साउदी अरबको अर्थतन्त्र ३.३ प्रतिशतले खुम्चिन सक्छ । ऊर्जा निर्यातबाट बलियो आम्दानी गर्दै आएको साउदी अरबमा आर्थिक सङ्कुचनको यस्तो अनुमानलाई दुर्लभ आर्थिक मन्दीको सङ्केतका रूपमा हेरिएको छ ।

यसैबीच, आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले बुधबार साउदी अरबलाई लक्षित गरी भइरहेका आक्रमणले विश्वभरका मानिसलाई असर पार्न सक्ने चेतावनी दिनुभएको थियो । ऊर्जा आपूर्ति र मूल्यमा पर्ने प्रभावका कारण मध्यपूर्वको द्वन्द्व क्षेत्रीय सीमाभन्दा बाहिर पनि फैलिन सक्ने चिन्ता बढेको छ ।

पछिल्ला दिनमा साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीचको लडाइँ थप चर्किएको छ । क्षेप्यास्त्र आक्रमणमा विमानस्थल र ऊर्जा पूर्वाधारका साथै साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको मुख्यालयसमेत प्रभावित भएको जनाइएको छ । आक्रमणमा मानवीय क्षति भएको छ ।

युद्धको आर्थिक प्रभाव, बढ्दो ऊर्जा लागत र विश्व अर्थतन्त्रका चुनौतीबारे छलफल गर्न यसै साता बैंककमा अधिकारी तथा विज्ञहरू भेला भएका छन् । छलफलमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको तीव्र लगानीको दिगोपनाबारे पनि चासो व्यक्त गरिएको छ ।

विश्लेषकहरूका लागि अहिले मुख्य चुनौती युद्धको अवधि र त्यसले ऊर्जा आपूर्ति, पूर्वाधार तथा क्षेत्रीय आर्थिक वृद्धिमा पार्ने प्रभाव आकलन गर्नु रहेको छ । युद्ध लम्बिँदै गएमा मध्यपूर्वका अर्थतन्त्रमा परेको दबाब अझ बढ्न सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan