बूढीगण्डकी बाढीः आरुघाटमा बेलिब्रिज जडानको तयारीमा खटियो सेनाको टोली
काठमाडौँ, २५ असोजः बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो स्थानमा ‘बेलिब्रिज’ जडान गर्ने तयारीका लागि नेपाली सेनाको टोली खटिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक इन्जिनियरिङ टोली उक्त कामका लागि खटिइएको हो ।
बाढीबाट प्रभावितको उद्धारका लागि आज दिनभर सेनाका एमआई–१७ सहित चार वटा हेलिकप्टर परिचालित भएका थिए । हेलिकप्टर र स्थलमार्गबाट खटिएको फौजद्वारा प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म जम्मा ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको निर्देशनालयले जनाएको छ ।
सैनिक टोलीले गोरखाको जगतबाट १७, यारुबाट दुई, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुबाट १२, नामरुङबाट तीन, देङबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरेको हो ।
उद्धार गरिएकामध्येबाट नौ विदेशीसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको छ । प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।
