विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी निरन्तर खटिएको छ : प्रधानमन्त्री शाह
काठमाडौं, १९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताउनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सरकारले कुनै पनि किसिमको सम्झौता नगरी निरन्तर काम गरिरहेको बताउनुभएको हो।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो।
मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गरी विपद् व्यवस्थापनको काम चाँडोभन्दा चाँडो सम्पन्न गरिने बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।”
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी त्यसको व्यवस्थापन तथा पुनःस्थापनाका लागि सरकार सक्रिय रहेको जानकारी दिनुभयो।
उहाँले आगामी दिनमा विपद्का जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको पनि बताउनुभयो। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत सरकारले आवश्यक तयारी र काम अघि बढाइरहेको उहाँको भनाइ छ।
प्रधानमन्त्री शाहले विपद्का बेला आफ्नो ज्यानसमेत जोखिममा राखेर उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
