Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |
newsabhiyan

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत स्पष्ट पार्ने बहस अघि बढेको छ।

बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र सामाजिक सुरक्षासहितको आर्थिक विकासलाई आफ्नो नीतिको आधार बनाउने संकेत गरेको छ।

कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको अवधारणासँग जोड्ने बहस चलिरहेको छ। यही क्रममा निजी क्षेत्रको भूमिका, लगानी सुरक्षा, कर स्थायित्व र राज्यको भूमिकालाई समेत नयाँ ढंगले परिभाषित गर्न खोजिएको कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बताए।

‘अब राज्य र निजी क्षेत्रबीच अविश्वासको सम्बन्ध होइन, विश्वास, सहकार्य र प्रतिस्पर्धाको वातावरण आवश्यक छ,’ श्रेष्ठले भने, ‘निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा हेर्ने र लगानीका लागि सुरक्षित तथा पूर्वानुमानयोग्य वातावरण बनाउने विषयलाई हामीले प्राथमिकतामा राखेका छौँ।’

कांग्रेसले निजी क्षेत्रलाई उत्पादन, रोजगारी र राजस्वको प्रमुख संवाहकका रूपमा अघि बढाउने नीति लिएको छ। व्यवसाय सञ्चालनमा देखिएका कानुनी तथा प्रशासनिक झन्झट घटाउने, उद्यममैत्री कानुन निर्माण गर्ने, कर नीति स्थिर र पूर्वानुमानयोग्य बनाउने तथा लगानीको सुरक्षा सुनिश्चित गर्ने विषयलाई आर्थिक नीतिको महत्वपूर्ण आधार बनाइएको श्रेष्ठले बताए।

‘व्यवसाय गरेकै कारण उद्यमीलाई अपराधीको दृष्टिले हेर्ने होइन, कानुन उल्लंघन भए कारबाही गर्ने तर उद्यम र लगानीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।

राज्य नियामक, निजी क्षेत्र उत्पादनको मुख्य साझेदार

महाधिवेशनको आर्थिक बहसमा राज्य र निजी क्षेत्रको भूमिका स्पष्ट गर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ। उत्पादन र लगानीमा निजी क्षेत्रलाई मुख्य भूमिका दिने तथा राज्यलाई नियमन, समान अवसर र न्यायोचित वितरण सुनिश्चित गर्ने भूमिकामा केन्द्रित गर्ने अवधारणा अघि सारिएको छ।

कांग्रेसले २०४८ सालपछि अवलम्बन गरिएको खुला तथा उदार आर्थिक नीतिले निजी क्षेत्रलाई लगानी र उत्पादनको अग्रणी भूमिकामा ल्याएको बताउँदै आएको छ। बैंकिङ, उद्योग, ऊर्जा, पर्यटन, सेवा तथा पुँजी बजारलगायत क्षेत्रमा निजी लगानी विस्तारलाई कांग्रेसले सोही नीतिको परिणामका रूपमा व्याख्या गर्दै आएको छ।

अब त्यही आर्थिक नीतिलाई समयअनुकूल परिमार्जन गर्दै निजी क्षेत्रलाई नियन्त्रणको क्षेत्र नभई आर्थिक विकासको मुख्य साझेदारका रूपमा स्थापित गर्ने कांग्रेसको धारणा छ।

लगानी सुरक्षादेखि कर स्थायित्वसम्म

कांग्रेसको आर्थिक बहसमा लगानीकर्ताका लागि नीतिगत स्थिरतालाई प्रमुख विषय बनाइएको छ। व्यवसाय सुरु गर्न र सञ्चालन गर्न लाग्ने प्रशासनिक झन्झट घटाउने, करका दर तथा नीतिलाई पूर्वानुमानयोग्य बनाउने, लगानीको सुरक्षा गर्ने तथा सरकारी निकायबाट हुने अनावश्यक हस्तक्षेप घटाउने विषय अघि सारिएको छ।

कांग्रेसको आर्थिक अवधारणामा करका दर र सर्तलाई लामो समयसम्म स्थिर राख्ने गरी नीतिगत स्थायित्व कायम गर्ने विषयसमेत समेटिएको छ।

‘लगानीकर्ताले आज लगानी गर्दा पाँच वर्षपछि सरकार वा नीति परिवर्तन भएपछि आफ्नो लगानीको अवस्था के हुन्छ भन्ने अन्योल हुनुहुँदैन,’ श्रेष्ठले भने, ‘लगानीको प्रतिफल र जोखिमको आकलन गर्न सक्ने गरी नीति स्थिर र पूर्वानुमानयोग्य हुनुपर्छ।’

कांग्रेसले यसअघि सार्वजनिक गरेको आर्थिक योजनामा आगामी पाँच वर्षमा १३७ खर्ब ५० अर्ब लगानी परिचालन गर्ने लक्ष्य अघि सारेको छ। त्यसको करिब ८० प्रतिशत लगानी निजी क्षेत्रबाट जुटाउने अवधारणा कांग्रेसले अघि सारेको हो।

राज्यको भूमिका सहजकर्ता तथा निष्पक्ष नियामकमा केन्द्रित गर्दै निजी क्षेत्रबाट ठूलो परिमाणमा पूँजी परिचालन गर्ने कांग्रेसको योजना छ। अर्थतन्त्रलाई निजी क्षेत्रमैत्री, उच्च आर्थिक वृद्धिमुखी र सामाजिक न्यायमा आधारित बनाउने अवधारणा त्यसमा समेटिएको छ।

यसले आगामी आर्थिक वृद्धिको मुख्य आधार सरकारी खर्चभन्दा निजी लगानी, उत्पादन र रोजगारी विस्तारलाई बनाउने कांग्रेसको प्राथमिकता देखाउँछ।

निजी क्षेत्रको लगानी बढाउन वित्तीय स्रोतमा सहज पहुँचलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ। विशेषगरी उत्पादनमूलक तथा श्रमप्रधान उद्योगलाई सहज कर्जा उपलब्ध गराउने र वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने नीति अघि सारिएको छ।

ऊर्जा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, सूचना प्रविधि तथा नयाँ अर्थतन्त्रका क्षेत्रमा निजी लगानी विस्तार गर्ने विषय कांग्रेसको आर्थिक बहसमा समेटिएको श्रेष्ठले बताए।

‘नेपालको अर्थतन्त्रलाई आयात र विप्रेषणमा मात्र निर्भर राखेर अघि बढ्न सकिँदैन,’ उनले भने, ‘उत्पादन बढाउने, निर्यात विस्तार गर्ने र युवालाई स्वदेशमै रोजगारी तथा उद्यमको अवसर सिर्जना गर्ने गरी लगानीको वातावरण बनाउनुपर्छ।’

उद्यमीलाई अपराधी होइन, साझेदार
कांग्रेसले व्यावसायिक गतिविधिलाई अनावश्यक रूपमा अपराधीकरण गर्ने कानुनी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने धारणा पनि अघि सारेको छ।

निजी क्षेत्रमाथि नियमन र अनुसन्धान आवश्यक भए पनि व्यवसाय सञ्चालनकै कारण उद्यमी त्रसित हुने अवस्था सिर्जना गर्न नहुने कांग्रेसको धारणा छ। कानुन उल्लंघनमा कारबाही गर्ने तर उद्यमशीलतालाई नै अपराधको दृष्टिले नहेर्ने वातावरण बनाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ।

यसका लागि व्यवसायसँग सम्बन्धित कानुनलाई सरल र स्पष्ट बनाउने तथा सरकारी निकायबाट हुने दोहोरो नियमन र अनावश्यक प्रशासनिक झन्झट घटाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

विदेशी लगानीका लागि पनि नीतिगत स्थिरता
विराटनगर / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय युवा मोजाहिद हकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

विराटनगर–१७ निवासी हकले ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन्। कांग्रेसको संशोधित विधानले ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक प्रदेशमा एक महिलासहित दुई जना तथा खुलातर्फ सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ।

डेढ दशकदेखि कांग्रेसमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा जोडिँदै आएका छन्। पार्टीका विभिन्न अभियान तथा सामाजिक गतिविधिमा समेत उनको सक्रियता रहँदै आएको छ।

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने हकले युवा नेतृत्वमा सबै समुदायको अपनत्व सुनिश्चित गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन्।

“युवा केन्द्रीय सदस्यमा सबै समुदायको अपनत्व हुनुपर्छ भन्ने मान्यताका साथ मैले उम्मेदवारी दिएको हुँ,” उनले भने, “३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यका रूपमा निर्वाचित गराउन सबै महाधिवेशन प्रतिनिधिसँग सहयोगको अपिल गर्दछु।”

हक सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी लियो तथा लायन्स क्लब, करिब फाउन्डेसन, युथ युनिटी क्लब अफ नेपाल र फिड द निड नेपाल क्लबलगायत संस्थामार्फत विभिन्न सामाजिक गतिविधिमा सहभागी हुँदै आएका छन्।

कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय संरचनामा युवा सहभागिता बढाउने उद्देश्यसहित ३५ वर्षमुनिका युवाका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था गरेको छ। महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने निर्वाचन कार्यतालिका कांग्रेसले सार्वजनिक गरिसकेको छ।

मोरङ–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि हकले युवाका मुद्दा, समुदायको प्रतिनिधित्व र सामाजिक सरोकारका विषयलाई पार्टीको केन्द्रीय तहमा उठाउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan