कृषि अनुसन्धानलाई किसानमुखी बनाउन समिति सदस्यको सुझाव
काठमाडौँ, ५ असोजः प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनःसंरचना तथा संस्थागत सुदृढीकरण गरी अनुसन्धानलाई किसानको आवश्यकता, उत्पादन र रोजगारीसँग जोड्न निर्देश दिएको छ ।
समितिको आजको बैठकमा नार्कको वर्तमान अवस्था, अनुुसन्धान उपलब्धि, प्रविधि विकास र हस्तान्तरण, प्रदेश तथा स्थानीय तहसँगको समन्वय र भावी अनुसन्धान रणनीतिबारेको छलफलपछि उक्त निर्देशन दिएको समिति सभापति अशोककुमार चौधरीले जानकारी दिनुभयो ।
यसअघि बैठकमा समिति सदस्यले विकसित प्रविधि र नश्ल किसानको खेतसम्म पुगे–नपुगेको तथा त्यसबाट किसानलाई केकस्तो फाइदा पुगेकोबारे अनुगमन तथा मूल्याङ्कन गर्न सुझाव दिनुभएको थियो ।
समिति सदस्यहरुले नार्क संस्थागत सङ्गठनात्मक पुनःसंरचना, समयानुकूल ऐनको अद्यावधिक, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धानमा लगानी वृद्धि, रैथाने तथा स्थानीय बाली–बीउ संरक्षण कार्यक्रम विस्तार गर्न तीन तहकै सरकारबीच समन्वय र सहकार्यको आवश्यता औँल्याउनुभएको थियो ।
कृषि र भू–उपयोग नीतिबीच सामञ्जस्य कायम गर्दै नेपालको माटो, भूगोल तथा हावापानी अनुकूल कृषि अनुसन्धान अघि बढाइनुपर्ने उहाँहरुको सुझाव थियो ।
सदस्यहरुले कृषि अनुसन्धानलाई उत्पादन, खाद्य सुरक्षा, आयात प्रतिस्थापन र रोजगारीसँग जोड्ने गरी कार्यक्रम बनाएर लागू गर्न सरकारलाई सुझाव दिनुभयो ।
त्यस अवसरमा नार्कका कामु कार्यकारी निर्देशक डा श्रीमत श्रेष्ठले संस्थाको वर्तमान अवस्था, अनुसन्धान उपलब्धि, प्रविधि विकास र हस्तान्तरण, प्रदेश तथा स्थानीय तहसँगको समन्वय र अनुसन्धान रणनीतिबारे जानकारी गराउनुभयो ।
उहाँले नार्कबाट विकसित प्रविधि किसानसम्म पु¥याउने, पालिकालाई बीउ तथा फलफूलका बिरुवामा आत्मनिर्भर बनाउने, पशुको उन्नत नश्ल उत्पादन गर्ने तथा ‘डिजिटल’ माध्यमबाट कृषि प्रविधि प्रसार गर्न भइरहेको प्रयासबारे जानकारी गराउनुभयो ।
निर्देशक श्रेष्ठले कृषि अनुसन्धानमा पर्याप्त तथा दिगो लगानी आवश्यक बताउनुभयो ।
यसैबीच, उक्त समितिद्वारा गठित कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमितिका संयोजक सुजाता तामाङले उपसमितिलाई प्राप्त कार्यदेशअनुरुप काम अघि बढिरहेको जानकारी दिनुभयो ।
