विनेसामको सम्मान समारोह (भिडियो रिर्पोट)
काठमाडौं । काठमाडौंको बागबजार स्थित होटल हार्दिकको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरी विश्व नेपाली साहित्य महासंघले पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको छ ।
बैसाख १२ गते गएको महाभुकम्पमा उद्दार गर्ने उद्दारकर्ताहरु मध्यबाट विशेष भूमिका निर्वाह गर्ने ४ जना उद्दारकर्ताहरुलाई जनही नगद रु २५ हजार सहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको छ ।
विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको दोस्रो विश्वव्यापी खुला कविता प्रतियोगीतामा प्रथम, द्धितिय एवम् तृतिय स्थान हासिल गर्नुभएका कविहरुलाई पनि क्रमशः २० हजार, १० हजार र ५ हजार नगद सहित पुरस्कार वितरण गरेको छ ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई विशेष सम्मान गरिएको थियो । उहाँले महाभुकम्पको बेलामा तन, मन र धनले सहयोग गरेकोमा विशेष सम्मान गरिएको संस्थाका कोषाध्यक्ष केदार संकेतले बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथिको आशनबाट बोल्दै गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भन्नुभयो नेपालीहरु जहाँ पुगे पनि नेपाली भाषा र साहित्यको विकासमा लागिरहेकोले मलाई खुसी लाग्छ ।
उहाँले थप्नुभयो विश्व नेपाली साहित्य महासंघ जसरी नेपाली भाषा र साहित्यको संरक्षण र सम्बद्र्धनमा जुटेको छ आउँदा दिनहरुमा पनि त्यसरी नै जुटिरहोस् । यो कुनै पनि राजनीतिक शक्ति, विशेष भाषा र जातीको संस्था नभई विशुद्ध नेपाली साहित्यकारहरुको संस्था बन्न सकोस् ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्द राज भट्टराईले नेपालीहरु विश्व छरिएर रहेकाले विश्वमा जहाँ जहाँ नेपालीहरु छन् त्यहाँ त्यहाँ नेपाली भाषा र साहित्यको विकासको काम गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता सबै नेपालीहरुको कर्तव्य भएको बताउनु भयो ।
कार्यक्रमका अतिथि कवि, शिल्पीकार तथा रेडियो नेपालका बोर्ड डाइरेक्टर सदस्य रमेश पौडेलले विश्व नेपाली साहित्य महासंघ स्थापनादेखि आफु लागिरहेको र आउँदा दिनहरुमा पनि आफुले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउदै मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रमका अतिथि सुशिल पराजुलीले भुकम्प पिडितहरुको उद्दारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार गणेश ठाडा मगर लगायत साहित्य महासंघका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथमा विजया दशमी तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान र चियापान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विश्वास दीप तिगेलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थितहरुलाई संस्थाका उपाध्यक्ष सागर श्रेष्ठले स्वागत गर्नुको साथै संस्थाको बारेमा प्रकास पार्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव खगेन्द्र अधिकारी अमृतले गर्नुभएको थियो ।
भूकम्पमा उद्दार गर्नेहरुमा शसस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बहादुर बस्नेत, नर्स जसमाया जिरेल नर्स शारदा श्रेष्ठ र ब्रबिंम कुमार केसी हुनुहुन्छ भने कविता प्रतियोगितामा प्रथम सन्देश सुब्बा, द्वितीय संकर निरौला, तृतीय हुने प्रथा र भाषा भाषी बाट पुनम ठाकुर रहनु भएको थियो |
साथै विश्व नेपाली साहित्य महासंघ केन्द्रले प्रकाशन गरेको ४ वटा कृतिहरु र साउदी अरेवियाबाट प्रकाशन गरिएको १ साथै ईजरायलबाट प्रकाशन गरेको १ कृतिको पनि विमोचन गरिएको थियो ।
