डा विजय दत्तको कथा सङ्ग्रह ‘जमुवा टोल’ विमोचन
काठमाडौँ, १२ मङ्सिर : डा विजय दत्तद्वारा लिखित कथा सङ्ग्रह ‘जमुवा टोल’ विमोचन गरिएको छ ।
डा राजेन्द्र विमल प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा आयोजित कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा श्यामनारायण लाभले उक्त कृतिको विमोचन गर्नुभयो ।
कृतिमाथि धारणा राख्दै उपकुलपति लाभले ‘जमुवा टोल’ मा समकालीन नेपाली समाज, संस्कृति, राजनीति, दर्शन र मानवीय संवेदनाका विविध पक्षलाई गहिराइका साथ प्रस्तुत गरिएको बताउनुभयो ।
उहाँका अनुसार पुस्तकमा राष्ट्रिय जीवनका विभिन्न कालखण्डका आरोह–अवरोह, महामारीका विषम परिस्थिति, सांस्कृतिक धरोहरको संरक्षण तथा राजनीतिक र सामाजिक विसङ्गतिलाई सूक्ष्म ढङ्गले चित्रण गरिएको छ । कृतिमा समेटिएका विषयवस्तुले पाठकलाई गम्भीर चिन्तन गर्न र समाजमा भइरहेका घटनालाई नयाँ दृष्टिकोणबाट बुझ्न प्रेरित गर्ने उहाँले बताउनुभयो ।
प्राचीन सभ्यतादेखि आधुनिक समयका जटिलता, पौराणिक पात्रको प्रतीकात्मक प्रयोगदेखि समसामयिक यथार्थसम्मका विषय समेटिएकाले कृति पठनीय र मननयोग्य बनेको उपकुलपति लाभको भनाइ थियो ।
लेखक डा दत्तले पुस्तकमा विदेह भूमिको माटो, संस्कृति र प्राचीन सभ्यताको सुगन्ध समेटिएको बताउनुभयो । ‘मेरो जनकपुरधाम’, ‘जानकी रेखा’, ‘सीतात्व’ र ‘मातृभाषाको सुगन्ध’ लगायतका अध्यायले त्यस क्षेत्रको ऐतिहासिक तथा पौराणिक महत्व उजागर गरेको उहाँले उल्लेख गर्नुभयो ।
पुस्तकमा समकालीन नेपालको राजनीतिक परिदृश्य, गठबन्धनको अस्थिर राजनीति र विकास निर्माणमा देखिएको ढिलासुस्तीलाई समेत समेटिएको उहाँले बताउनुभयो। प्रकृति र मानिसबीचको द्वन्द्व पनि कृतिको महत्त्वपूर्ण पक्ष रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा डा राजेन्द्र विमल प्रतिष्ठानका अध्यक्ष अवधेश पोखरेल, वरिष्ठ अधिवक्ता गणेश केसीलगायतले ‘जमुवा टोल’ समाज रूपान्तरणका लागि आवश्यक बौद्धिक खुराक र चेतनामूलक सन्देशले भरिएको कृति भएको बताउनुभयो ।
उहाँहरूले पुस्तकले प्राज्ञिक क्षेत्र, अनुसन्धानकर्ता तथा साहित्यप्रेमी पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्नुका साथै समाज र समसामयिक विषयको अध्ययन तथा विश्लेषणमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न विधाका साहित्यकार, लेखक, मानवअधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थी तथा कानुन व्यवसायीको सहभागिता थियो ।
