दीपावली र छठ: परम्परागत पुख्र्यौली सीपबाट आर्जनको अवसर
महोत्तरी, २३ कात्तिक: मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ । दीपावली र यो सम्पन्न भएलगत्तैको छठ पर्वको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्र अहिले पर्वमय बनेका छन् । यी पर्व परम्परागत सीप भएका यहाँका जाति, समुदायका लागि आर्जनको अवसर बन्दै आएका छन् ।
आर्थिक रूपमा पछिपरेका यहाँका कुम्हाल, बिन र डोम समुदाय अहिले आफ्नो पुख्र्यौली पेसाको सीप बिक्ने अवसरले उत्साहित छन् । कुम्हालको माटाका भाँडा बनाउने र बिन एवं डोमको बाँसका कप्टेरा र चोयाबाट छिटी, नाङ्लो, चाल्नो र ससाना कनसुपीलगायत सामग्री बनाउनु पुख्र्यौली पेसा हो ।
अहिले दीपावली र छठ पर्व दुवैमा माटाका नयाँ भाँडा तथा बाँसको चोया र कप्टेराबाट बनिने नयाँ सामग्री अनिवार्य मानिन्छन् । यही परम्पराले दीपावली र छठ आएपछि आफ्नो सीपले बजार पाउने र नगद आर्जन हुने आसमा उत्साहित हुने स्थानीय बताउँछन् ।
“केही दशकअघिसम्म माटाका गाग्री, छ्याँची, तौला र ढकनासहितका भाँडा दैनिक जीवनमा प्रयोग हुँदा वर्षैभरि आम्दानीका स्रोत बन्थ्ये । बाँसका चोया र कप्टेराले बन्ने छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामान पनि दैनिक जीवनमा उपयोग गरिन्थे । तर पछिल्ला केही दशकयता यिनको ठाउँमा प्लाष्टिकका सोही प्रयोजनका सामानले बजार पाउन थालेपछि यी जाति समुदायको सीप पर्वविशेषमा साघुरिएका छन्”, भङ्गाहा-४ रामनगर बस्तीका केशवर मुखिया बिनले भन्नुभयो ।
यसले गर्दा आफ्नो पुख्र्यौली पेसाको सीप अब जीवन गुजाराकै माध्यम नबने पनि दीपावली र छठका बेला केही नगद आर्जनको अवसर हुने उहाँको भनाइ छ । “अरू बेला हाम्रा सामान अब त्यति खोजिँदैनन्, दीपावली र छठमा भने अझै खोजी हुँदैछन् । त्यसैले यी पर्व नगद आर्जनका लागि हाम्रो पर्खाइमा हुन्छन्”, उहाँले भन्नुभयो, “यसबेला हुने आर्जनले आफ्नो पर्व टार्न आम्दानी हुनुका साथै सीप निरन्तरताको अवसर बनेका छन् ।”
बिनजस्तै बाँसको चोया र कप्टेराकै सामानहरु बनाउने भङ्गाहा-५ सिद्धपुर रेलस्टेसनटोलका प्रगास मरिक डोमले पनि दीपावली र छठमा आफ्नो सीप बिक्ने आसले यसबेला यी सामान बनाउने गरेको बताउनुभयो । बिन र डोमजस्तै यहाँका कुम्हाल समुदाय यी पर्वमा माटाका दियौरी, अर्घौटो, घैँटो, छ्याँची, तौला र ढकनासहितका भाँडा बिक्री भएर दुई/चार पैसा हात लाग्ने आसमा हुन्छन् ।
अरूबेला गुजाराका लागि अन्य काम गर्ने कुम्हाल दीपावली र छठ नजिकिएपछि सबै काम थाती राखेर माटाका भाँडा बनाउन तल्लीन हुन्छन् । “यी पर्वमा माटाका भाँडाको माग राम्रै हुन्छ, त्यसैले यतिबेला सबै काम छाडेर यी सामान बनाउन लाग्छौँ”, औरही-४ श्रीपुर कविलासाका सुरेश पण्डित कुम्हालले भन्नुभयो, “पर्वमा बेचिएका भाँडाको आर्जनले केही महिनाको नगद खर्च चल्छ ।”
पर्वविशेषले अहिले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकाका सबैजस्तो बस्तीमा लाग्ने बारविशेषका साप्ताहिक हटियामा माटाका भाँडा एवं बाँसको चोया र कप्टेराले बुनिएका भाँडाको छुट्टै बजार जम्ने गरेको छ । दीपावली र छठ यस भेगका मुख्य पर्व मानिएकाले पर्वमा सर्वसाधारणले यी भाँडा किन्ने गरेका सुरेशको भनाइ छ ।
यस्ता भाँडा पर्वका लागि नयाँ नै चाहिने स्थापित चलनले अहिले माटाका भाँडा र बाँसका चोया र कप्टेराले बुनिने सामानको माग बढेको छ । दीपावलीका लागि यी सामानको बजार लक्ष्मीपूजाका दिनसम्म बढी हुने भए पनि भाइटिकाका दिनसम्म बिक्री हुने श्रमिक बताउँछन् ।
दीपावलीपछि दुई दिनलगत्तै छठ पर्व सुरु हुन्छ । त्यसका लागि पनि आफ्ना सीपका सामग्रीको बजार जम्ने भङ्गाहा-५ भूचक्रपुरका आशलाल पण्डित कुम्हालको भनाइ छ । ग्रामीण परिवेशमा यो पुरानो चलन कायमै रहे पनि सहरी क्षेत्रमा भने कतिपयले यस्ता सामान खोज्न छाडिसकेका उहाँले बताउनुभयो ।
यिनका ठाउँमा प्लाष्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै गएपछि अबका केही वर्षपछि आपूmहरूको सीप कतै नचल्ने अवस्था आउनसक्ने लोहारपट्टी-४ पिपराढीका रामविलास पण्डित कुम्हालले बताउनुभयो ।
यसैगरी, गौशाला-१२ पडरियाकी अञ्जली मरिक डोमले यो पुख्र्यौली पेसाको सीपले चाडपर्वमा केही नगद आर्जन भए पनि वर्षभरिको गुजारा नचल्ने भएपछि आफ्ना छोराछोरी अन्य काममा लागेका बताउनुभयो । यो अवस्थाले मिथिला संस्कृति र कलासँग जोडिएको माटो र बाँसको चोया र कप्टेराबाट बनाइने सामग्रीबारे पछिल्लो पुस्ताले चासो नै राख्न छाडेपछि यो पहिचान हराउने पाका मैथिलको चिन्ता छ ।


