Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस)
newsabhiyan

सुदूरपश्चिम, १६ कात्तिकः लामो समयको प्रतीक्षापछि कैलालीको गेटामा स्थापना भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अहिले सञ्चालनको चरणमा छ । विश्वविद्यालय प्रशासनले रु सात अर्बभन्दा बढीको लगानीमा निर्माण भएका यहाँका भौतिक संरचनाको उपयोग गर्दै सरकारको प्राथमिकताअनुसार काम भएको जनाइरहेको छ । शैक्षिक कार्यक्रम सञ्चालन, शिक्षण अस्पतालको क्षमता विस्तार र दक्ष जनशक्ति व्यवस्थापनमा उल्लेख्य प्रगति भएको नेतृत्वको दाबी छ । यद्यपि, विश्वविद्यालयको सञ्चालन, चिकित्सा शिक्षाको गुणस्तर र यसको भविष्यलाई लिएर विभिन्न कोणबाट प्रश्न र बहस पनि भइरहेका छन् । प्रस्तुत छ, विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीसँग राससका टिकाराम सुनार र रमा चन्दले गर्नुभएको कुराकानीको सम्पादित अंशः

    विश्वविद्यालय सञ्चालनको अन्तिम चरणमा छ । त्यसलाई पूरा गर्ने महत्वपूर्ण जिम्मेवारीमा तपाईं हुनुहुन्छ । त्यसअनुसार के–के काम गरिरहनुभएको छ ?

    लामो समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्दै आएको छु । चिकित्सा शिक्षा, अनुसन्धान र अन्तरराष्ट्रिय सहकार्यका क्षेत्रमा काम गर्दाको अनुभवलाई विश्वविद्यालयको उन्नयनमा उपयोग गर्ने मेरो प्रयास छ । काठमाडौँ विश्वविद्यालयमा रहँदा विश्वका प्रतिष्ठित विश्वविद्यालयसँग साझेदारी निर्माण, आर्थिक स्रोत व्यवस्थापन तथा स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययन–अनुसन्धानका अवसर विस्तारमा काम गरेकोलगायत अनुभव पनि छँदैछन् । तत्कालीन सरकारले दुई÷दुई पटक उपकुलपतिका लागि दरखास्त आह्वान गर्दा पनि आवेदन नपरेको पृष्ठभूमिमा म यहाँ आएको छु । धेरै सोचविचार र परामर्शपछि मात्रै यहाँ आउने निर्णय गरेको थिएँ ।

    म यहाँ आउँदा एमबिबिएस अध्ययन सुरु गराउने मुख्य जिम्मेवारी थियो, तर यहाँको अवस्था अपेक्षा गरेभन्दा फरक पाएँ । करिब १०० बिघा जमिनमा बनेका अन्तरराष्ट्रियस्तरका पूर्वाधार वर्षौंदेखि उपयोगविहीन थिए । नेपालमा यति ठूलो संरचना भएको स्वास्थ्य संस्था अर्को छैन तर पनि किन सञ्चालन हुन सकेन भन्ने प्रश्नले मलाई निकै बेचैन बनायो । पहिलो रात त निद्रासमेत लागेन ।

    मेरो स्वभाव नै जिम्मेवारी लिएपछि पूरा गरेर छाड्ने हो । त्यसैले सरोकारवालाहरुसँग आफ्नो कुरा राखेँ । तत्कालीन प्रदेश सरकारको नेतृत्वसँग भेटेर अवस्थाबारे जानकारी गराएँ । उहाँहरुले अगाडि बढ्नुस्, हामी साथमा छौँ भन्नुभयो । पहिलो तीन महिना रातदिन नभनी सबैको विश्वासमा काम गरियो । बीचमा सङ्घीय सरकार परिवर्तन भएपछि अध्यादेशबाट हामी पनि हट्यौँ तर नयाँ सरकारले पनि मलाई नै जिम्मेवारीमा ल्याएको छ । त्यो विश्वासलाई पूरा गर्न एउटा दृढ अठोटका साथ काम गरिरहेका छौँ । 

    जिम्मेवारी त दियो तर काम गर्न कत्तिको सहयोग पाइरहनुभएको छ ? 

    विश्वविद्यालयमा अहिलेसम्म भएका काम प्रधानमन्त्री र उहाँको सचिवालयको सहयोगबिना सम्भव हुने थिएन । यसबीचमा सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूसँग काठमाडौँमा छलफल ग¥यौँ । नेपाली जनताको करबाट विशाल संरचना बनेका छन् । यति ठूलो लगानी भएको संस्थालाई कुनै पनि हालतमा सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो आग्रह थियो । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अबेर रातिसम्म बसेर पहल ग¥यौँ । तीन महिनाभित्रै नौवटा नियमावली र सङ्गठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण तयार ग¥यौँ । ३०० शय्याको अस्पताल सञ्चालनका लागि सरकारबाट बजेटको पूर्वस्वीकृति लियौँ । त्यहीअनुसार रु दुई अर्ब ५३ करोड रुपैयाँ र ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भएको छ । प्रदेश र स्थानीय सरकारहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । अहिले सबैको साझा चाहना यो संस्था सञ्चालन हुनुपर्छ भन्ने हो । 

    विश्वविद्यालयमा विशाल पूर्वाधार र कानुनी हैसियत हुँदाहुँदै पनि यसको औचित्य र सञ्चालन क्षमतामाथि प्रश्न उठिरहेका छन् । यसलाई कसरी लिनुभएको छ ?

    विश्वविद्यालयका दुईवटा महत्वपूर्ण पक्ष छन् । पहिलो, अध्ययन–अध्यापन र दोस्रो, शिक्षण अस्पताल सञ्चालन । अहिले धेरै बहस शिक्षण अस्पताल पहिले कि शैक्षिक कार्यक्रम भन्नेमा केन्द्रित छन् । ‘चल्ला पहिले कि अण्डा पहिले’ भने जस्तो ! बहस हुनु ठीक छ तर यही विषयमा विवाद गरिरहने हो भने संस्था अगाडि बढ्न सक्दैन । २०७८ चैत्र १४ गतेको मन्त्रिपरिषद् बैठकले ११ तहको निर्देशक पठाएर तुरुन्त ३०० शय्याको अस्पताल सुरु गर्न भनेर निर्णय ग¥यो, तर कार्यान्वयन हुन सकेन । चार दशकअघि त्रिवि शिक्षण अस्पताल सुरु हुँदा अहिलेको जस्तो पूर्वाधार र जनशक्ति थिएन । मलाई थाहा छ, त्यहाँ एमबिबिएसको कोर्ष सुरु हुँदा एबिबिएसलाई पठाउने शिक्षक सोही तह उत्तीर्ण भएकाहरु मात्रै हुन्थे । त्यो बिन्दुबाट सुरु गरिएको संस्था क्रमशः विकास हुँदै नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्र बनेको हो । 

    हामी पनि भर्खर यात्रा सुरु गर्दैछौँ । त्यसैले सुरुदेखि नै पूर्ण विकसित विश्वविद्यालयको अपेक्षा गरेर काम रोक्नुहुँदैन । अध्ययन–अध्यापन र शिक्षण अस्पताललाई अलग गरेर नहेरौँ किनकि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने हो भने शिक्षण अस्पताल अनिवार्य हुन्छ । एमबिबिएसमा ५० जना विद्यार्थी भर्ना गर्ने हो भने त्यसअनुसार ३०० शय्याको अस्पताल र आवश्यक सेवा सुविधा हुनैपर्छ । यी दुवै सँगसँगै अगाडि बढाउन सकिन्छ । अहिले हामीले त्यहीअनुसार काम गरिरहेका छौँ ।

    संस्था स्थापना हुनु र गुणस्तरीय स्वास्थ्य सेवा दिनसक्नु फरक विषय हुन् । गेटालाई विश्वासयोग्य संस्था बनाउन के काम भइरहेका छन् ?

    यसलाई गुणस्तरीय र विश्वासयोग्य संस्था बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ काम गरिरहेका छौँ । यहाँ पाँच वर्षदेखि अस्पताल सञ्चालनमा थियो । चिकित्सक र करिब १०० जनशक्ति पनि थिए तर अपेक्षाअनुसार सेवा विस्तार हुन सकेन । द्वन्द्वकालमा रामेछाप र दोलखामा सीमित स्रोतसाधनका बीच जोखिमपूर्ण अवस्थामा पनि २५–३० जनाको सानो जनशक्तिबाट प्रसूति सेवा सञ्चालन गरेको अनुभव मसँग छ । यहाँ त सामान्य प्रसूति सेवा पनि दिन नसकेको अवस्था रहेछ । यस्ता कमजोरी सुधार्न काम सुरु गरिसकेका छौँ । धनगढीमा उपलब्ध नभएका केही विशिष्टीकृत उपचार तथा शल्यक्रिया सेवा यहाँ सुरु भइसकेका छन् । अब स्थानीय आवश्यकताका आधारमा थप विशिष्टीकृत सेवा विस्तार गर्छौँ । हामीसँग बजेट, योजना र स्पष्ट दृष्टिकोण छ । विश्वविद्यालयसभा बसेर महत्वपूर्ण काम अगाडि बढाउँछौँ । 

    तथापि, गेटालाई किन विवादको विषय बनाइँदैछ भन्ने बुझ्न आवश्यक छ । महत्वपूर्ण काम सुरु हुनेबेला अवरोधको अवस्था किन बनिरहेको छ ? हिजो चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार विशेषज्ञ चिकित्सकको पदपूर्ति प्रक्रिया अघि बढाउँदा केही चुनौती आए । यहाँ ७७ जना विभागीय विशेषज्ञ चिकित्सकका लागि ३०६ जनाको आवेदन परेको थियो । अनुभवी र प्रतिष्ठित चिकित्सकले समेत इच्छा देखाउनुभएको थियो तर त्यही बेला विश्वविद्यालयको विषयलाई लिएर विरोध र अनशन सुरु भयो । त्यसले धेरैमा अन्योल उत्पन्न भएर आवेदनका केही वरिष्ठ चिकित्सक आउन तयार हुनुभएन । अहिले छनोट भएर आएका चिकित्सक पनि दक्ष र सक्षम हुनुहुन्छ । फेरि विद्यार्थी छनोट भएर आउने बेला त्यस्तै अन्योलको अवस्था बनाउन सकिन्छ कि भनेर केही पक्ष लागेका छन् । त्यसबाट विचलित हुनुपर्ने अवस्था छैन । यो सरकारको प्राथमिकताको संस्था हो, जुनसुकै अवस्थामा पनि शिक्षण कार्य र स्वास्थ्य सेवाका काम अगाडि बढ्छौँ । 

    चिकित्सा शिक्षा आयोगले अनुमति दिएका चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि के–के तयारी छ ?

    शैक्षिक कार्यक्रम सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण आधारभूत स्वास्थ्य विज्ञान विभाग सञ्चालन हो । विद्यार्थीले सुरुका दुई वर्ष अध्ययन गर्ने विषय यहीसँग सम्बन्धित हुन्छ । त्यसका लागि आवश्यक संरचना, प्रयोगशाला, सामग्री तथा चिकित्सा शिक्षा आयोगले तोकेका उपकरण र पूर्वाधार तयारी अवस्थामा छन् । बिएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री कार्यक्रमका लागि पनि आवश्यक तयारी पूरा गरेका छौँ । अप्टोमेट्री सुरु गर्नुको अर्को आधार गेटा आँखा अस्पताल हो । यस क्षेत्रमै उत्कृष्ट सेवा दिइरहेको उक्त अस्पताललाई पनि शैक्षिक केन्द्रका रूपमा विकास गरेर सँगसँगै अघि बढाउन सकिन्छ भन्ने सोचसहित यो कार्यक्रम सुरु गर्दैछौँ ।

    कतिपयले त पर्याप्त तयारीबिना शैक्षिक कार्यक्रम सञ्चालन गर्न हतार गरिएको र अन्य अस्पतालका शय्या देखाएर शिक्षण कार्य गर्न थालिएको भन्छन् नि ?

    विश्वविद्यालय सञ्चालनमा हतार गरिएको होइन, बरु धेरै ढिला भइसकेको छ । करिब १०० बिघा जमिनमा संरचना बनेका छन् । सरकारले अर्बौं लगानी गरिसकेको छ । अब पनि सञ्चालन नगर्ने हो भने यी संरचना जीर्ण हुँदै जानेछन् । के यति ठूलो लगानी संरचना थन्क्याउनका लागि गरिएको हो त ?

    जहाँसम्म अन्य अस्पतालका शय्या प्रयोग गर्ने विषय छ, त्यो भन्नुभन्दा पहिला विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालबारे बुझ्नुपर्छ । नेपाल सरकारले कानुनी रूपमा यहाँ ३०० शय्याको अस्पताल बनाइसकेको छ । आवश्यक संरचना र जनशक्ति परिचालन भइसकेका छन् । आयोगले तोकेको मापदण्डअनुसार मात्र होइन, त्यसभन्दा विशिष्टीकृत सेवा दिने गरी जनशक्ति थपिरहेका छौँ । हाम्रा विद्यार्थीले क्लिनिकल अभ्यासमा जानुपर्ने अवस्था दुई वर्षपछि मात्रै आउँछ । त्यतिबेलासम्म अस्पताललाई पाँचदेखि छ सय शय्यामा विस्तार गर्ने हाम्रो योजना छ । त्यसका लागि बजेट, योजना र आवश्यक तयारी छ । 

    अर्को महत्वपूर्ण कुरा, यो एउटा विश्वविद्यालय हो । यसको दायरा गेटाको परिसरमा मात्र सीमित हुँदैन । समग्र देश नै हेर्नुपर्छ । पहिलो दायित्व सुदूरपश्चिमका नागरिकको स्वास्थ्य अवस्था सुधार गर्नु हो । त्यसका लागि सुदूरपश्चिमभरि फैलिएर काम गर्नैपर्छ । विश्वविद्यालय ऐनले सङ्घ, प्रदेश र स्थानीय तहका अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गरी सेवा विस्तार गर्ने व्यवस्था गरेको छ । त्यसैअनुसार चारवटा अस्पतालसँग सम्झौता भएको छ । यसको अर्थ आफ्नै शिक्षण अस्पताल विकास नगर्ने भन्ने होइन । हामीले ती अस्पतालसँग सहकार्य गर्नुको मुख्य उद्देश्य उनीहरूको क्षमता विकास र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु पनि हो । हालै महाकाली प्रादेशिक अस्पतालमा शल्यक्रियाका क्रममा जटिलता आएको एउटा केसमा यहाँका वरिष्ठ चिकित्सकले रातदिन खटेर उपचार गरी ज्यान बचाउनुभएको थियो । यो सहकार्यको एउटा उदाहरण हो ।

    चिकित्सा शिक्षा आयोगले गेटालाई दिएको सिट खारेजीको माग गर्दै डा गोविन्द केसी अनशनमा हुनुहुन्छ । उहाँका माग र चिन्तालाई कसरी लिनुभएको छ ?

    म डा केसीलाई निकै सम्मान गर्छु । नेपालको चिकित्सा शिक्षा सुधारमा उहाँको अतुलनीय योगदान छ । गेटामा यस्तो संस्था स्थापना हुनु पनि उहाँको अभियानको एउटा परिणाम हो । डा केसीले उठाउनुभएका प्रश्नलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । सुदूरपश्चिमका विद्यार्थीले आफ्नै क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षा पढ्न पाउनुपर्छ र यहाँका नागरिकले स्तरीय स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनुपर्छ भन्ने उहाँको अभियानको मूल मर्म हो । हामी पनि त्यही उद्देश्य पूरा गर्न काम गरिरहेका छौँ । त्यो पूरा हुँदैछ । यसमा उहाँ पनि खुसी हुनुपर्छ । उहाँले उठाएका प्रश्नबारे हामी सचेत छौँ । त्यही कारण चिकित्सा शिक्षा आयोगका निर्देशक नै वरिष्ठ चिकित्सकसहित यहाँ आएर पूर्वाधार तथा तयारीको सूक्ष्म मूल्याङ्कन गर्नुभएको होला भन्ने मेरो बुझाइ छ । त्यसपछि मात्रै सिट निर्धारण भएको छ । हामी गुणस्तरीय शिक्षामा कुनै सम्झौता गर्दैनौँ । हाम्रा क्रियाकलापबाट उहाँ निराश हुने अवस्था आउन दिँदैनौँ । 

    शिक्षण कार्य सुरु गर्नुअघि पूरा गर्नुपर्ने कुनै शर्त वा मापदण्ड बाँकी छन् कि ? 

    नेपाल सरकारले वर्षौंदेखि ठूलो लगानी गरेको यो गौरवपूर्ण संस्था हो । आवश्यक पूर्वाधार तयार छन् । विद्यार्थी भर्ना भएर अध्ययन सुरु गर्नुअघि नै चिकित्सा शिक्षा आयोगले तोकेका न्यूनतम मापदण्डभन्दा निकै अब्बल व्यवस्थापन गर्ने गरी काममा खटिरहेका छौँ ।

    विश्वविद्यालय स्थापनाको उद्देश्य पवित्र छ, तर यसको भविष्यलाई लिएर अझै पनि अन्योल र आशङ्का भने छन् ।  नेतृत्वका हिसाबले यसको दीर्घकालीन भविष्य कसरी सुनिश्चित गर्नुहुन्छ ?

    कुनै पनि संस्था स्थापना गर्दा त्यसको दिगोपनाबारे सुरुदेखि नै सोच्नुपर्छ । नेतृत्वले आजको आवश्यकता मात्रै होइन, वर्षौंपछिसम्म संस्था कस्तो हुने र बनाउने भन्ने दृष्टिकोण राखेर काम गर्नुपर्छ । यो संस्था नेपालको पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हो । यसको आफ्नै ऐतिहासिक महत्व र पहिचान छ । यसलाई देशभित्र विश्वासिलो बनाउँदै अन्तरराष्ट्रियस्तरको संस्था बनाउनु हाम्रो लक्ष्य हो । त्यसका लागि विश्वका प्रतिष्ठित विश्वविद्यालयसँग सहकार्य र साझेदारी विस्तार गर्नेछौँ । मैले विभिन्न अन्तरराष्ट्रिय विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेस’रका रूपमा काम गरेको छु । विश्वप्रसिद्ध अक्सफोर्ट विश्वविद्यालयमा विद्यावारिधि तहका विद्यार्थीलाई समेत पढाउँदै आएको छु । ती सबै अनुभवलाई पनि यहाँ उपयोग गर्नेछु ।

    सबैलाई साथमा लिएर एउटा त्यस्तो संस्था बनाउने छौँ, जसलाई साँच्चै विश्वविद्यालय भन्न सकियोस् । हामी यसलाई परम्परागत अर्थमा विभागहरू भएको शिक्षण अस्पतालका रूपमा मात्रै विकास गर्न चाहँदैनौँ । कार्डियोपल्मोनरी सेन्टर, सेक्सुअलिटी एन्ड रिप्रोडक्टिभ हेल्थ सेन्टर, चाइल्ड हेल्थ सेन्टर तथा सर्जरी सेन्टरजस्ता विशिष्टीकृत सेवा केन्द्र स्थापना गर्ने हाम्रो सोच छ । यसलाई अनुसन्धानमा आधारित सामुदायिक स्वास्थ्य सेवा केन्द्र बनाउने लक्ष्य छ । यो विश्वविद्यालयले सुदूरपश्चिमका २७ लाख नागरिकलाई मात्रै होइन, देशका अन्य क्षेत्र र सीमापारि भारतका नागरिकसमेत गरी तीन करोडभन्दा बढी जनतालाई सेवा दिनसक्ने सम्भावना छ । आफ्नै स्रोतबाट सञ्चालन हुनसक्ने प्रणाली विकास गर्दै यसको भविष्य सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो । त्यसको जग बसाल्छौँ । 

    अन्त्यमा, सुदूरपश्चिमका नागरिक र विश्वविद्यालयका सरोकारवालालाई के भन्न चाहनुहुन्छ ? 

    सर्वप्रथम सुदूरपश्चिमका नागरिकप्रति सम्मान व्यक्त गर्न चाहन्छु । यो विश्वविद्यालयप्रति नागरिकको असाध्यै ठूलो माया र अपेक्षा छ । म जिम्मेवारीमा आउँदा यहाँ जताततै झारपात मात्रै थियो । मैले एउटा आह्वान गर्दा १५ हजारभन्दा बढी नागरिक स्वःस्फूर्त रूपमा सरसफाइमा सहभागी हुनुभयो । स्थानीय तहले पनि त्यत्तिकै साथ दिएको छ । यो संस्था यहाँका नागरिकको सपना र अपनत्वसँग जोडिएको छ भन्ने प्रमाणित गर्छ । भविष्यमा यही विश्वविद्यालयबाट दक्ष जनशक्ति उत्पादन गरेर संस्थालाई राम्रोसँग सञ्चालन गर्ने अभियानमा लागौँ । यो संस्था सुदूरपश्चिमको मात्रै होइन, देशकै गौरव गर्न लायक बनाउन मेरो नेतृत्व प्रतिबद्ध छ । यो संस्था नेपाल सरकारको हो, त्यसैले यसको भविष्य, दिगोपना, गुणस्तरीय र भरपर्दो शिक्षण सिकाइमा कुनै समस्या हुनेछैन । यसलाई चिकित्सा शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाएरै छाड्छौँ । सबैको साझा प्रयासले हामी विश्वविद्यालयको इतिहास रच्नेमा आशावादी छौँ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan