Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युद्धभन्दा शान्तिलाई लोकप्रिय बनाउन श्याल्पा रिन्पोछेको आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार |
newsabhiyan

विश्वशान्तिका लागि आन्तरिक शान्ति, करुणा र सामूहिक उत्तरदायित्वमा जोड

काठमाडौं । युद्ध, हिंसा र द्वन्द्वले विश्वलाई अस्थिर बनाइरहेका बेला शान्तिलाई युद्धभन्दा बढी लोकप्रिय र आकर्षक बनाउनुपर्ने आह्वान बौद्ध धर्मगुरु श्याल्पा टेन्जिन रिन्पोछेले गरेका छन् ।

बेलायतको लन्डनमा बिहीबार आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्च CC Forum 2026 को विशेष गाला समारोहलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै रिन्पोछेले विश्वशान्तिका लागि सबै मानव समुदाय एकजुट हुनुपर्ने बताएका हुन् ।

करिब १२० जना विशिष्ट अतिथि, अन्तर्राष्ट्रिय नेतृत्वकर्ता, समाजसेवी, परोपकारी संस्था तथा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्व सहभागी समारोहमा उनले ‘दीर्घकालीन विश्वशान्तिको सुरुवात मानिसको आन्तरिक शान्तिबाट हुन्छ’ भन्ने सन्देश प्रस्तुत गरे ।

रिन्पोछेले प्रत्येक मानवभित्र आधारभूत सद्गुण र शुद्ध चेतना प्राप्त गर्ने अन्तर्निहित क्षमता रहेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आग्रह गरे । स्वतन्त्रता, करुणा, जिम्मेवारी र सकारात्मक उद्देश्यसहितको जीवनले मात्रै शान्तिपूर्ण समाज निर्माण गर्न सक्ने उनको भनाइ थियो ।

समारोहमा उनले नेपालको लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पिस स्याङ्क्चुअरी (Universal Peace Sanctuary) को प्रगतिबारे जानकारी दिँदै हालसम्म करिब २५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए । साथै, स्विट्जरल्यान्डमा मुख्यालय रहने युनिभर्सल पिस स्याङ्क्चुअरी फाउन्डेसनको औपचारिक शुभारम्भ आगामी नोभेम्बर १७ मा जेनेभास्थित फोर सिजन होटलमा गरिने जानकारी दिए ।

उनले विश्वशान्तिको ऐतिहासिक अभियानलाई सफल बनाउन व्यक्ति, परोपकारी संस्था, अन्तर्राष्ट्रिय निकाय तथा शान्तिप्रेमी समुदायलाई फाउन्डेसनका मानवीय र परोपकारी गतिविधिमा सहभागी हुन आह्वानसमेत गरे ।

रिन्पोछेको शान्ति अभियानप्रति हिल्टन फ्यामिली अफिसका अध्यक्ष जे. ब्राड्ली हिल्टन, नोबेल परिवारका सदस्य लुडभिग नोबेल तथा कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सले प्रशंसा व्यक्त गरेका थिए ।

त्यसैगरी CC Forum का संस्थापक म्याक्स स्टुडेनिकोफले रिन्पोछेको विश्वशान्तिप्रतिको योगदानको प्रशंसा गर्दै वर्तमान विश्व परिस्थितिमा मानिसभित्र र विश्व समुदायमा शान्ति स्थापना गर्नु पहिलेभन्दा बढी आवश्यक भएको बताए ।

रिन्पोछेको सम्बोधनको मुख्य सन्देश थियो— ‘युद्धभन्दा शान्तिलाई बढी फेसनेबल बनाऔँ।’ उनले करुणालाई व्यवहारमा रूपान्तरण गर्न र साझा शान्तिको आकांक्षालाई ठोस योगदानमा बदल्न विश्व समुदायलाई आग्रह गरे ।

उनको सहभागिताले शान्ति केवल प्रशंसा गर्ने आदर्श नभई प्रत्येक व्यक्ति र समुदायले निर्वाह गर्नुपर्ने सामूहिक जिम्मेवारी भएको सन्देश दिएको छ ।

नेपालको लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पिस स्याङ्क्चुअरीलाई अन्तर्राष्ट्रिय शान्ति अभियानसँग जोड्ने रिन्पोछेको पहलले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको साझा सन्देश प्रवाह गर्ने केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

‘शान्ति आफैँबाट सुरु हुन्छ, करुणाले हामीलाई जोड्छ र सामूहिक प्रयासले शान्तिपूर्ण विश्व निर्माण गर्छ’ भन्ने सन्देशसहित रिन्पोछेले आफ्नो सम्बोधन टुंग्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan