Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुम्ला–सुर्खेत सडक जीर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | (रासस)

    हुम्ला, १२ कात्तिकः हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ । वर्षा होस् वा घाम, जुनसुकैबेला पहिरो खसिरहने भएकाले यात्रा गर्न कठिन भएको हो । 
    
    सडकको दयनीय अवस्थाका कारण यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ । कर्णाली करिडोरको यो वास्तविकताले सडक निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारको भूमिकामाथि पुनःप्रश्न उब्जाएको छ ।

    सर्केगाड गाउँपालिका–१, जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको तीनदिने जोखिमपूर्ण यात्रा पार गरेपछि कर्णाली करिडोरको अवस्थाप्रति आक्रोश व्यक्त गर्नुभयो । 
    
    नेपालगन्जको जमुनाहादेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको कर्णाली करिडोर वर्षौंदेखि यात्रुका लागि सास्तीको माध्यम बनिरहेको उहाँले गुनासो गर्नुभयो ।  

    रावतका अनुसार विकास र समृद्धिका ठूला विषयको उठान भए पनि कर्णालीवासीले सुरक्षित सडकमा यात्रा गर्न पाएका छैनन् । सडक निर्माण तथा स्तरोन्नतिका लागि वर्षांैदेखि बजेट खर्च हुँदै आए पनि नागरिकले सहज यात्राको अनुभूति गर्न नसकेको भन्दै उहाँले सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सडकका जोखिमपूर्ण स्थानमा बनाइएका काठे तटबन्धलगायत संरचनाको गुणस्तरमाथि प्रश्न उठाउँदै बजेट खर्चको प्रभावकारिता र निर्माणको अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जनताले दैनिक भोग्नुपरेको कठिनाइ प्रत्यक्ष अनुभूति गरेपछि सडकको वास्तविक अवस्था बुझ्न सकिने उहाँको कथन थियो ।  
 
    सर्केगाड गाउँपालिका–१ को खच्चामा होटल व्यवसाय गर्दै आउनुभएका डिलबहादुर कार्कीले सडकको स्तरोन्नति नभएकाले सास्ती व्यहोर्नुपरेको गुनासो गर्नुभयो  । 

    त्यसैगरी, स्थानीय नवराज महताराले कबाडी–सलिसल्ला सडकखण्डको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याउनुभयो ।
    
    सडकको जोखिमपूर्ण अवस्थाले यात्रु तथा मालसामान ढुवानीमा समस्या सिर्जना गर्नुका साथै आपतकालीन अवस्थामा आवतजावत गर्नसमेत कठिन भएको स्थानीयवासीले बताउनुभएको छ ।  
    
    कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग हो । उक्त सडकले स्थानीय नागरिकको आवतजावत, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्वास्थ्य उपचार र पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्छ, तर सडकको जोखिमपूर्ण अवस्थाका कारण नागरिकले सहज र सुरक्षित यात्राको प्रत्याभूति पाउन सकेका छैनन् । 
    
    प्राकृतिक विपत्तिका कारण पहिरो तथा सडक अवरुद्ध हुने समस्या देखिए पनि जोखिम न्यूनीकरण, नियमित मर्मतसम्भार र निर्माण भएका संरचनाको गुणस्तर सुनिश्चित गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो । कर्णालीवासीको अपेक्षा विकासका आश्वासन र भाषणमा मात्रै सीमित छैन । उनीहरू सुरक्षित सडक र भरपर्दो यातायात सुविधा चाहन्छन् । 
    
    सर्केगाडदेखि सुर्खेतसम्मको तीनदिने कठिन यात्राले उठाएको प्रश्न हो यो । कर्णाली करिडोरको जोखिम न्यूनीकरण र स्तरोन्नतिका लागि सरकारले प्रभावकारी कदम कहिले चाल्छ ? भन्ने हुम्ली नागरिकको सरकारसँग प्रश्न छ । यहाँका सर्वसाधारणको जिज्ञासा यहाँ पाइन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan