Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाराहीघाटमा दसैँको मैझारो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

गण्डकी, ९ कात्तिक  :  उसै त शरद यामको घमाइलो दिन । त्यहीँमाथि दसैँको उल्लास । कोही लिङ्गे पिङमा मच्चिरहेका थिए त कोही चर्खे पिङमा । दसैँको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमामा पोखरा, फेवा किनारस्थित बाराहीघाटको दृश्य बेग्लै थियो । 

रातो टीका र जमरामा सजिएका विदेशी पर्यटक नेपाली संस्कृति र खानपानमा रमाइरहेका देखिन्थे । मालश्री धुन र मौलिक बाजाको तालले पर्वमय माहोलको छनक दिन्थ्यो ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) द्वारा आयोजित ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ ले बाराहीघाट आइतबार दिनभर जसो उत्सविलो बन्यो । नेपाली संस्कृति र पर्यटनलाई जोड्ने गरी मञ्चले पहिलोपटक आयोजना गरेको उक्त महोत्सवसँगै दसैँको मैझारो भयो । ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने आदर्श वाक्यसहित आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटकले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतको हातबाट टीका र जमारा लगाएका थिए ।

    पोखरा घुम्न आएका पर्यटकले नेपाली पर्व दसैँको अनुभव बटुले । नेपाली परिकारको स्वाद लिए । एकापसमा रमाए । नेपाली संस्कृतिबारे सुने÷पढेका विदेशी पर्यटक मौलिक सांस्कृतिक पर्वमा प्रत्यक्ष सामेल हुन पाएकामा खुसी थिए । महिला समूहले बनाएका सेल रोटीलगायत परिकार चाख मानेर खाइरहेका थिए । 

महोत्सवमा विभिन्न महिला समूहद्वारा उत्पादित कृषि उपज र खानाका परिकार बिक्रीका लागि राखियो । दसैँको सांस्कृतिक र पारिवारिक माहोललाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक उमा भण्डारीले बताउनुभयो । दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी विदेशी पर्यटकलाईसमेत नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा यो महोत्सव लिनुपर्ने उहाँको भनाइ छ । 

महोत्सवमा विदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा र खानपान चिनाउनुका साथै विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सवमा विभिन्न पर्यटनसम्बद्ध सङ्घसंस्था, आमा समूह, स्थानीय समुदाय, सांस्कृतिक समूहलगायतको सहभागिता रहेको थियो । महोत्सवमा कबड्डी खेल समेत आयोजना गरियो । महोत्सवस्थलमा नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटन सम्बद्ध व्यावसायिक गतिविधिलाई समेटिएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको मौलिक संस्कृति पनि पर्यटनको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । कोजाग्रत पूर्णिमामा विदेशी पर्यटकसँग दसैँ मनाउने चलन बसाल्न महोत्सवलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । उहाँले यस्ता मेला, महोत्सव पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले महोत्सवले पोखराको पर्यटनलाई संस्कृतिसँग जोडेको बताउनुभयो । उहाँले दसैँ गन्तव्यका रुपमा पोखराको पर्यटन तथा सांस्कृतिक महोत्सवलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँ जस्ता ठूला चाडपर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । पोखरा भ्रमण आउने विदेशी पर्यटकलाई यहाँको प्राकृतिक सोन्दर्य मात्र नभएर संस्कृतिको अनुभव पनि दिलाउनुपर्ने उहाँको भनाइ छ ।

दसैँको सांस्कृतिक पक्षलाई विदेशी पर्यटकमाझ चिनाउन र नेपाली चाडपर्वलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मञ्चका अध्यक्ष ममता न्यौपानेले बताउनुभयो । उहाँले आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिइने बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan