हेटौँडामा १५ किलो चाँदीसहित चार भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुरको हेटौँडामा करिब १५ किलो चाँदीजस्तो देखिने वस्तुसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।
हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट आइतबार दिउँसो उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोदप्रसाद साहको कमान्डमा खटिएको टोलीले वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.३ च ७०७९ नम्बरको सानो भ्यान जाँच गर्ने क्रममा उक्त वस्तु फेला पारेको थियो।
भ्यानमा सवार चार जना भारतीय नागरिकलाई करिब १५ किलो चाँदीजस्तो देखिने वस्तुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद वस्तुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

