Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलेखुको झोलुङ्गे पुललाई  वैकल्पिक मार्गमा प्रयोग गरेपछि...

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार | (रासस)

धादिङ, ८ कात्तिकः त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ ।

    बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ ।

    समाजसेवी शिवराज सापकोटाका अनुसार झोलुङ्गे पुलमा सवारी चाप बढ्दा सुरक्षा खतरा बढेको बताउनुभएको छ । पुलमा भीडभाड बढ्दा स्थानीय प्रशासन वा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने उहाँको भनाइ छ । पुलभित्र मोटरसाइकल प्रवेश गरेपछि पैदलयात्रुलाई दोहोरो हिँड्न पर्याप्त ठाउँ नहुँदा एकअर्कालाई छलेर पार गर्नुपर्ने अवस्था छ ।

    धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकलचालक अभिषेक अधिकारीले पुल पार गर्न लामो समय पालो कुर्नु परेको अनुभव सुनाउनुभएको छ । “पुलमा पालो कुर्नका लागि घाममा आधा घण्टाभन्दा बढी जाममा बस्नु प¥यो,” उहाँले भन्नुभयो । पुलको सुरक्षाबारे चिन्ता भए पनि बाध्यताले यही बाटो प्रयोग गर्नु परेको उहाँको भनाइ छ ।

    दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने गरेका थिए । दसैँ सकिएर काठमाडौँ, पोखरा र चितवन फर्किने यात्रुको सङ्ख्या बढेपछि चाप नियन्त्रण गर्न कठिन भएको हो ।

    गत भदौ १० गते आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । यसपछि सदरमुकाम तथा आसपासका क्षेत्रमा जाने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan