Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टर्कीको विद्यालयनजिक गोली चल्दा ११ जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस/एपी)

टर्कीको पश्चिमी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयनजिक मङ्गलबार गोली चल्दा कम्तीमा ११ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरिएको अधिकारीले बताएका छन् ।

    न्यायमन्त्री अकिन गुर्लेकका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । मनिसा प्रान्तको तुर्गुत्लु जिल्लास्थित व्यावसायिक तथा प्राविधिक उच्च माध्यमिक विद्यालयअगाडि घटना भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ ।

    घटनालगत्तै प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । टर्कीको समाचार संस्था हाबरतुर्कका अनुसार पक्राउ परेका व्यक्ति सोही विद्यालयका विद्यार्थी हुन् । उनले आफन्तको घरबाट ल्याएको सटगन प्रयोग गरी विद्यालयनजिक गोली चलाएको र त्यसपछि पैदल भाग्ने प्रयास गरेको जनाइएको छ ।

    गोली चलाउनुको उद्देश्य खुलिसकेको छैन । मन्त्री गुर्लेकका अनुसार घटनाको अनुसन्धानका लागि दुई सरकारी वकिल खटाइएको छ । अनुसन्धानमा विद्यालयमा ती विद्यार्थीमाथि दुव्र्यवहार वा बुलिङ भएको भन्ने दाबीसमेत समेटिएको छ ।

    गुर्लेकका अनुसार अनुसन्धानका क्रममा संदिग्धका अभिभावक र बन्दुकका मालिक रहेका उनका हजुरबुबालाई पनि नियन्त्रणमा लिइएको छ ।
    घटनापछि चिन्तित अभिभावक विद्यालय पुगेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालयको प्रवेशद्वारमा सुरक्षाकर्मी र अभिभावकबीच तनाव भएको थियो ।

    टर्कीमा पछिल्ला महिनामा विद्यालयमा भएका दुई गोलीकाण्डपछि यो घटना भएको हो । सरकारले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय तथा अन्य शैक्षिक संस्थामा सुरक्षा व्यवस्था कडा पारेको थियो ।

    गत अप्रिलमा दक्षिणपूर्वी सान्लिउर्फा प्रान्तको एक उच्च माध्यमिक विद्यालयमा पूर्वविद्यार्थीले गोली चलाउँदा अधिकांश विद्यार्थी सहित १६ जना घाइते भएका थिए । आक्रमणकारीले पछि आत्महत्या गरेका थिए ।

    त्यसको भोलिपल्ट काहरामानमारास प्रान्तमा १४ वर्षीय विद्यार्थीले विद्यालयका दुई कक्षाकोठामा गोली चलाउँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । आक्रमणकारी प्रहरी कारबाहीमा मारिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan