Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अचार बिक्री गरेर मासिक रु २५ हजार बढी आम्दानी 

न्यूजअभियान | प्रकाशित मिति : २०८२ चैत ३ मंगलबार | (रासस)

घोराही (दाङ), ३ चैतः लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उहाँ अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आउनुभएको छ । यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उहाँ बताउनुहुन्छ । आयआर्जनको राम्रो स्रोत भएका कारण अचार व्यवसायलाई विगत १३ वर्षदेखि निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।

उहाँले तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गरेर बिक्री गर्न व्यस्त हुनुहुन्छ । अघिपछि भन्दा चाडपर्व र मेला, महोत्सवमा राम्रो बिक्री हुने उहाँले बताउनुभयो । “सबैभन्दा आँपको अचार बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “यस व्यसायबाट मासिक रु २५ हजार बढी आम्दानी गर्दै आएको छु ।” सुरुमा स्वान नेपाल भन्ने संस्थाबाट तालिम लिएर व्यावसायिक रूपमा अचार बनाएर बिक्री गर्दै आएको आशारानी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अचारअनुसार किलोलाई रु २५० देखि ५०० सम्म बिक्री गर्दै आएको छु”, आफूले अचार उत्पादन गरेर बिक्री गर्ने र स्थानीय तहले महिलाका लागि सञ्चालन गरेको तालिममा प्रशिक्षक भएरसमेत जाने गरेको उहाँको अनुभव छ ।
 
धेरै महिलाले यससम्बन्धी तालिम लिए पनि उत्पादन गरेर बिक्री गर्न समस्या हुने उहाँ बताउनुहुन्छ । उमेरले ४० वर्ष पुग्नुभएका उहाँलाई परिवारको राम्रो साथ मिलेको छ । उहाँ पूर्व मुक्तकम्लरीसमेत हुनुहुन्छ । आफ्नै व्यवसायमा जोडिएर आयआर्जन गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । लाजाजुनी पूर्व मुक्तकम्लरी अचार उद्योगमार्फत सञ्चालन गर्नुभएको अचार व्यवसायका लागि आँप एक वर्षका लागि पहिले नै मौज्दात राख्ने गरेको उहाँ बताउनुहुन्छ ।

महिला उद्यमीको सीपलाई स्थानीय सरकारले पनि उत्पादित वस्तुको बजारीकरणका लागि पहल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । अन्य महिलाले व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गर्ने मन भए पनि आर्थिक समस्याका कारण पछि पर्ने गरेको आशारानीले बताउनुभयो ।  

महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीपमा जोड्न आवश्यक रहेको उहाँको भनाइ छ । आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न आमनागरिकलाई उहाँको सुझाव छ । “हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय मेला महोत्सवमा ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan