Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस-एपी)
newsabhiyan

बेइजिङ, ८ मङ्सिर : चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नुहुनेछ । उहाँहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नुहुनेछ ।

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नुहुनेछ । चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उहाँ शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्कनुहुनेछ ।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।

मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसक्नुभएको छ । उहाँ तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्नुहुने सीसीटीभीले जनाएको छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan