दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु
धनगढी, २८ कात्तिकः दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट ३० विधाका खेलाडी छनोट गर्न लागिएको हो । प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको छनोट प्रतियोगिता मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।
कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन धनगढी रङ्गशालामा गरिएको हो । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री खगराज भट्टले गर्नुभएको थियो ।
प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सका प्रतियोगिता सञ्चालन हुनेछन् ।
त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन गरिनेछ । डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेछ ।
प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने परिषद्ले जनाएको छ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहनेछ ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले खेलकुदले मानिसलाई अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रदेश सरकारले आफ्नो क्षमता र स्रोतअनुसार खेल क्षेत्रको विकासका लागि सहकार्य गर्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


