महिला उद्यमीलाई प्रोत्साहन गर्न विनाधितो कर्जा उपलब्ध गराउँछौँ : मन्त्री शाह
ललितपुर, १८ कात्तिक (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले महिला उद्यमीलाई प्रोत्साहन गर्न विशेष सहुलियत, विनाधितो कर्जा र प्रविधि हस्तान्तरणको व्यवस्था गरिने बताउनुभएको छ ।
महिला उद्यमी महासङ्घ नेपालले आज ललितपुरमा आयोजना गरेको ‘नेपालमा महिला उद्यमशीलताः नीतिगत कार्यान्वयन समीक्षा तथा संसदीय कार्ययोजना’ विषयक कार्यशालामा उहाँले महिला उद्यमीका नाममा दर्ता तथा नवीकरण हुने साना तथा मझौला उद्योगलाई विशेष छुट, विनाधितो सहुलियतपूर्ण ऋण र तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा उपलब्ध गराउन सहजीकरण गरिने जानकारी दिनुभयो ।
नयाँ उद्योगलाई नवजात शिशुसरह सुरुआती चरणमा राज्यले संरक्षण र सहुलियत दिनुपर्ने उल्लेख गर्दै उहाँले उद्योग स्थापना तथा सञ्चालनका प्रशासनिक प्रक्रिया सरल र नीतिगत स्थिरता कायम गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो । प्रारम्भिक सहयोगले रोजगारी सिर्जना, कर योगदान र आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
नीति निर्माण र कार्यान्वयन प्रभावकारी बनाउन उद्योगी, व्यवसायी, विज्ञ तथा सङ्घसंस्थाबाट मापनयोग्य, व्यावहारिक र समयसीमाभित्र कार्यान्वयन गर्न सकिने सुझाव दिन आग्रह गर्दै मन्त्री शाहले महिला उद्यमीका कानुनी तथा वित्तीय समस्या संसद्मा उठाउन र संसदीय निगरानी बढाउन सांसदहरूलाई अनुरोध गर्नुभयो ।
महिला उद्यमशीलता रोजगारी सिर्जना, सामाजिक सोच परिवर्तन र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने माध्यम भएको उल्लेख गर्दै उहाँले सरकार, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा महासङ्घकी अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमीले रोजगारी र अर्थतन्त्रमा योगदान पुर्याए पनि वित्तीय पहुँच, बजार विस्तार, व्यवसाय दर्ता तथा सञ्चालन र नीतिगत एवं संस्थागत अवरोध भोगिरहेको बताउनुभयो । उहाँले विद्यमान नीतिको प्रभावकारी कार्यान्वयन, आवश्यक सुधार र सरोकारवालाबीच सहकार्यमा जोड दिनुभयो ।
कार्यशालामा महिला उद्यमशीलता प्रवर्द्धनका लागि नीतिगत सुधार, वित्तीय पहुँच विस्तार, संस्थागत समन्वय र व्यावसायिक वातावरण निर्माणबारे छलफल गरिएको थियो ।

