Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | रासस

म्याग्दी, १३ कात्तिकः यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।
  
पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख, हल्लेखर्कको पहिरोको अध्ययन गरिएको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएका परामर्शदाता ‘पिपुल इन निड’का भूगर्भविद् लेखप्रसाद भट्टले स्थलगत निरीक्षण, प्रभावितसँग छलफल, नमूना सङ्कलनका साथै ड्रोनको सहायताले पहिरोको अध्ययन गरिएको बताउनुभयो । 

“अन्नपूर्ण गाउँपालिकाको माग र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाउद्धार गाउँको पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गर्न पठाएको हो”, उहाँले भन्नुभयो, “पाउद्धारमा बस्ती बसाउन उपयुक्त हुने–नहुने भन्ने विषयमा सुझाव दिनका लागि केन्द्रित भएर अध्ययन गरेका हाँै ।” 

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, ५ नं वडाका अध्यक्ष राजेश तिलिजा पुन, गाउँपालिकाका प्राविधिक शाखा प्रमुख र भूगर्भविद्को टोलीले १०० मिटरभन्दा बढी लम्बाइमा खसेका करिब ३० वटा पहिरोको अध्ययन गरेका छन् । 

पाउद्धार गाउँमाथिको पहिरो, बढी चिरा परेको स्थान तथा रुख ढल्केकाले थप जोखिम देखिएको भूगर्भविद् भट्टले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक रूपमा उक्त पहिरोबाट १५ घर उच्च जोखिममा छन् । गाउँमाथिको र अन्य पहिरोले बस्तीलाई बनाउन सक्ने जोखिमको विषयमा सुझावसहितको विस्तृत प्रतिवेदन गाउँपालिकालाई बुझाउने भट्टले बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा गत असोज ११ गते पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो । यस्तै, २८ वटा घरमा पूर्ण क्षति भएको वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । दुई सयभन्दा बढी घर रहेको पाउद्धार गाउँ चारैतिरबाट पहिरोले घेरिएको छ । अन्य बस्तीमा पनि पहिरोको जोखिम उत्तिकै छन् । 

पाउद्धार जोड्ने सडक अझै अवरुद्ध छ । स्थानीयवासीले श्रमदान गरेर पैदलमार्ग खुलाएका छन् । अस्थायी रूपमा विद्युत् आपूर्ति भएको छ । खानेपानी मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको छ । 

असोज ११ गते हेलिकप्टरबाट उद्धार गरेर अन्नपूर्ण गाउँपालिका–६ घारस्थित आश्रयस्थलमा लगिएका ११५ जना पाउद्धारवासी पछिल्लो समय आफन्त, छिमेकीको खाली घर र सुरक्षित ठाउँमा टहरा बनाएर बस्न थालेका छन् । शिखको आश्रयस्थलमा रहेका ३५ घरपरिवारमध्ये अधिकांश आफन्तको घरमा सरेका छन् । 

भूगर्भविद्ले दिने सुझाव र अध्ययन प्रतिवेदनको आधारमा पुनर्निर्माणको काम अघि बढाउने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । गाउँपालिकाका अन्य स्थानका पहिरोको पनि भौगर्भिक अध्ययनका लागि पहल भइरहेको उपाध्यक्ष पुनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan