इजरायलले अरब समूहका सदस्यमाथि दबाब बढायो, नेतन्याहु सरकार गठन गर्ने उपाय खोज्दै
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको समूहले बिहीबार इजरायली अरब नेताहरूमाथि विदेशी कोषको लेनदेनको अप्रमाणित आरोप लगाएको छ ।
यो कदम अनिर्णायक निर्वाचनपछि सरकार गठनको कुञ्जी हुन सक्ने दलहरूलाई कमजोर पार्ने प्रयास हो । इजरायली राष्ट्रपति आइज्याक हर्जोगले धोखाधडीको आरोपमा अनुसन्धानको माग गर्नुभयो तर सम्पूर्ण अरब इजरायली समुदायलाई कलङ्कित नगर्न सतर्कता अपनाउनुभयो । निर्वाचनमा इजरायली अरब समुदायले अभूतपूर्व दरमा मतदान गरेका थिए । मङ्गलबारको निर्वाचनको मत गणना लगभग पूरा भएको छ ।
नेतन्याहु वा पूर्व सैन्य प्रमुख गादी आइजेन्कोटको नेतृत्वमा रहेको विपक्षी गुटमध्ये कसैले पनि संसद् ( केनेसेट)मा बहुमत सुरक्षित गर्न नसक्ने देखिएको छ ।
नेतन्याहु समूहका आरोपहरूलाई एक प्रमुख अरब दलले अस्वीकार गरेको छ । यसले निर्वाचन प्रक्रियाबारे प्रश्न उठाउन सक्ने र अनिश्चितता ल्याउन सक्ने आँकलन गरिएको छ ।
इरानसँग युद्ध फर्कने खतरा यस क्षेत्रमा मडारिरहेको यस बेला इजरायलको निर्वाचनमा इजरायली अरबहरूको सहभागिता व्यापक रह्यो। उनीहरू सन् १९४८ मा देश स्थापनापछि बसेका प्यालेस्टिनीहरूका सन्तान हुन् । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिरजस्ता अधिकारीहरूले उनीहरूको समुदायलाई गाजा र कब्जा गरिएको वेस्ट बैङ्कका प्यालेस्टिनीहरूजस्तै व्यवहार गर्नुपर्ने आह्वान गरेपछि आक्रोश बढेको थियो।
नेतन्याहुले अनुचितताको आरोप लगाएपछि बेन गभिरले अरब दलका नेताहरूलाई ‘तुरुन्त’ गिरफ्तार गर्न इजरायललाई प्रोत्साहनसम्म दिनुभयो ।
राम दलका नेता मान्सुर अब्बासले गलत कामको आरोपमा अनुसन्धान भएमा स्वागत गर्नुभयो र मध्यमपन्थी इस्लामी दलको आरोपहरूसँग आफ्नो ‘कुनै सम्बन्ध नभएको’ बताउनुभयो ।
अरब दलहरूसँग विपक्षी गुटलाई विजयी बनाउन पर्याप्त मत छ, तर आइजेन्कोट नेतन्याहुका निरन्तर आक्रमणपछि पछि हटेको देखिन्छ । नेतन्याहुले आफ्नो दक्षिणपन्थी यहूदी आधारलाई विपक्षीलाई मत दिएमा अरबहरू सत्तामा आउने चेतावनी दिनुभएको थियो ।
–राजनीतिक भूकम्प–
सर्वोच्च अदालतका न्यायाधीश नोआम सोहलबर्ग जो रूढिवादी धारका अधिकारी हुनुहुन्छ र केन्द्रीय निर्वाचन आयोगका प्रमुखले पनि राम दलले कतारबाट पैसा पाएको आरोपमा शिन बेट सुरक्षा सेवालाई अनुसन्धान गर्न अनुरोध गर्नुभयो ।
कतार ऊर्जा सम्पन्न खाडीको प्रभावशाली देश हो जसको हमाससँग निकट सम्बन्ध छ । नेतन्याहुको लिकुड दलले भनेको छ, “रामगेट काण्ड राजनीतिक भूकम्प हो । इजरायलको निर्वाचन ‘चोरी’ भएको छ।”
सरकारी अधिकारीहरूले आरोपहरूलाई समर्थन गर्ने कुनै आधार भने दिन सकेका छैनन् ।
वामपन्थी उम्मेदवार यैर गोलानले नेतन्याहुलाई बहुमत नपाएपछि विवाद खडा गर्न खोजेको आरोप लगाउनुभएको छ। उहाँले भन्नुभयो, “अब उहाँ चुनावी परिणामलाई जनताको इच्छाविरुद्ध र विशेष गरी अरब जनताविरुद्धको कुरूप वैधताविहीन अभियानमार्फत चुनौती दिन खोज्दै हुनुहुन्छ ।”
“नेतन्याहु आफैँ कतारसँग सम्बन्धित आरोपको छायामा लामो समयदेखि रहनुभएको छ । गत वर्ष उहाँका दुई सहयोगीलाई खाडी देशबाट भुक्तानी लिएको आरोपमा गिरफ्तार गरिएको थियो । इजरायलका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेतन्याहुले वर्षौँसम्म हमास–शासित गाजाका स्थिरता कायम राख्ने आशामा कतारको कोषलाई मौन समर्थन दिनुभएको थियो ।
सन् २०२३ अक्टोबर ७ मा जब हमासले नेतन्याहुको शासनकालमा इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा घातक एकल आक्रमण गर्यो, तब त्यो अवधारणा ध्वस्त भयो ।
लगभग ९३ प्रतिशत मत गणना भइसक्दा दबाबमा रहेका प्रभावशाली नेता नेतन्याहुको गुट ५३ सिटमा र आइजेन्कोटको नेतृत्वमा रहेको विपक्षी शक्ति ४८ सिटमा सिमित छन् ।
दुवै समूहले सरकार गठनका लागि आवश्यक ६१ सीट भन्दा निकै कम सीट जितेका छन् ।
दुई मुख्य अरब गठबन्धनको अभूतपूर्व कुल १९ सिट पाउने निश्चित भइसकेको छ । केही पर्यवेक्षकहरूले यी आरोपहरूले नेतन्याहुलाई फाइदा पु¥याउने बताएका छन् । अरब सांसदहरूलाई आइजेन्कोट अझ बढी समस्या हुने भएपनि वामपन्थी अरब–बहुमत संयुक्त सूचीका प्रमुख युसेफ जबारिनले बुधबार एएफपीसँग भन्नुभयो, “नेतन्याहुलाई गिराउन विपक्षीसँग सहकार्य गर्न आफ्नो समूह तयार रहनेछ तर सरकारमा भने सामेल हुनेछैन ।” नयाँ आरोपहरूको प्रतिक्रियामा आइजेन्कोटले अपडेट पाउँदै गरेको र निर्वाचन हस्तक्षेपविरुद्ध ‘अत्यधिक सतर्कता’ अपनाउने वाचा गर्नुभएको छ।
‘अर्कोतर्फ, हामी राजनीतिक खेलाडीहरूलाई अवस्थाको फाइदा उठाएर २६औँ संसद्को उद्घाटनको समयलाई प्रभावित गर्न दिन सक्दैनौँ,” उहाँले भन्नुभयो ।
आइजेन्कोटका एक दक्षिणपन्थी सहयोगी अभिग्दोर लिबरम्यानले आरोपहरूलाई ‘नाटकीय र अकल्पनीय ’ भएको बताउनुभयो । उहाँले आरोपबारे छिटो अनुसन्धानको लागि आग्रह गर्नुभयो ।
इजरायली प्रहरीको वक्तव्यमा भनिएको छ, “उनीहरू निर्वाचन अखण्डतासम्बन्धी हरेक उजुरीको अनुसन्धान गर्नेछन् ।”
नेतन्याहुले १९ वर्षभन्दा बढी समयदेखि इजरायललाई नेतृत्व गर्नुभएको छ । उहाँ इजरायलमा चतुर राजनीतिक खेलाडीका रूपमा चिनिनुहुन्छ ।
उहाँले मङ्गलबार नै निर्वाचनमा हस्तक्षेपको आरोप उठाउने प्रयास गर्दै अरब दलहरू नगदका खामसहित समातिएको बताउनुभयो ।
उहाँको लिकुड दलले बिहीबारभरि आरोपहरू फैलायो । प्रहरीले तीन जना आरोपी पक्राउ गरेको बताएको छ । तर निर्वाचन आयोगले यसलाई स्थानीय एक्लो घटना भनेको छ । सरकार गठनमा अर्को कारक इरानमाथिको आक्रमण हुन सक्छ ।
नेतन्याहुले बारम्बार इरानमाथि प्रहार गर्ने धम्की दिनुभएको छ । उहाँका सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को मङ्गलबारको अमेरिकी मध्यवर्ती निर्वाचनपछि आक्रमण गर्न तयार रहेको सङ्केत दिनुभएको छ, जसमा उहाँको रिपब्लिकन दलले आधार गुमाउने पूर्वानुमान छ ।
आइजेन्कोटले सैन्य हस्तक्षेपलाई चेतावनी दिनुभएको छ । उहाँले नेतन्याहुसँग जनादेश नभएको बताउनुभएको छ । अधिकारीहरूले प्रधानमन्त्रीका ‘राजनीतिक आवश्यकता’ भन्दा माथि इजरायलको सुरक्षा राख्नुपर्छ । आक्रमणले आइजेन्कोटलाई आपतकालीन एकता सरकारमा सामेल हुन दबाब बढाउन सक्छ । राष्ट्रपति हर्जोगले आधिकारिक नतिजा प्रकाशनपछि कसलाई सरकार गठनको पहिलो अवसर दिने निर्णय गर्नुहुनेछ ।

