चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल
धनुषा, १२ कात्तिकः दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस प्रदेशसहित मुलुकभरका बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ । चाडपर्व लक्षित व्यापारिक गतिविधि विस्तार भएसँगै दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, गरगहना, विद्युतीय उपकरण र सवारीसाधनसम्मको कारोबार बढ्नुका साथै सुस्त बनेको बजार चलायमान बनेका छन् । यसले होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन क्षेत्रको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पारेको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामसहित देशका प्रमुख सहरका बजारमा चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्ने उपभोक्ताको उपस्थिति बाक्लिएको छ । जनकपुरधामका शिवचोक, रामचोक, मुरलीचोक, जानकी चोकलगायत व्यापारिक क्षेत्रमा बिहानदेखि साँझसम्म किनमेल गर्नेको भीड देखिन्छ । चाडपर्वमा नयाँ लुगा लगाउने, घर सजाउने, मिठाई तथा अन्य परिकार बनाउने र आफन्तलाई उपहार दिने परम्पराका कारण बजारमा विभिन्न वस्तुको माग बढेको व्यवसायी बताउँछन् ।
उपभोक्तालाई आकर्षित गर्न व्यापारीले मूल्यमा छुट, उपहार तथा विशेष प्याकेज सार्वजनिक गरेका छन् । विशेषगरी लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामग्रीका पसलमा चाडपर्व लक्षित योजना सञ्चालन भइरहेका छन् । नेपाली समाजमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक महत्वमा सीमित नभई पारिवारिक भेटघाट, सामाजिक सम्बन्धको नवीकरण र आर्थिक कारोबार विस्तारको अवसर पनि बन्ने गरेका छन् ।
जनकपुरधाममा लामो समयदेखि अर्थशास्त्र अध्यापन गराउँदै आउनुभएका सञ्जय साहका अनुसार चाडपर्वका बेला घरपरिवारको खर्च बढ्ने र व्यवसायीले पनि ग्राहक आकर्षित गर्न विभिन्न छुटका योजना ल्याउने भएकाले बजारमा वस्तु तथा सेवाको माग बढ्छ ।
उहाँले चाडपर्वमा हुने खर्चले उत्पादन, वितरण र बिक्रीको प्रक्रियालाई सक्रिय बनाउने बताउनुभयो । उहाँका अनुसार चाडपर्वमा उपभोक्ताले सामान्य समयको तुलनामा बढी खर्च गर्ने भएकाले व्यापारिक कारोबारमा वृद्धि हुन्छ । यसको प्रभाव वस्तुको आपूर्ति, उपभोक्ताको क्रयशक्ति र बजारमा उपलब्ध मूल्यमा पनि निर्भर रहने उहाँको भनाइ छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले चाडपर्वमा हुने कारोबारले वर्षभरिको व्यापारिक चक्रमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँका अनुसार चाडपर्वमा उपभोक्ताले दैनिक आवश्यकताका वस्तुका साथै लामो समयसम्म प्रयोग हुने टिकाउ सामग्री खरिद गर्ने प्रवृत्ति बढेको छ ।
फर्निचर, विद्युतीय उपकरण तथा अन्य घरायसी सामग्री खरिद गर्न उपभोक्ताले चाडपर्वमा उपलब्ध हुने छुट र सहुलियतको प्रतीक्षा गर्ने गरेका छन् । यसका कारण चाडपर्वको समयमा यस्ता वस्तुको बिक्री बढ्ने गरेको उहाँले बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घ मधेस प्रदेशका अध्यक्ष सिए प्रमोद साहले दसैँ, तिहार र छठका बेला आम्दानी तथा खर्च दुवै बढ्ने भएकाले आर्थिक गतिविधिले गति लिने बताउनुभयो । उहाँका अनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारीले पाउने तलब, चाडपर्व खर्च र अन्य आम्दानीले बजारमा नगद प्रवाह बढाउँछ । त्यस्तै, सर्वसाधारणले वर्षभरि बचत गरेको रकम चाडपर्वमा खर्च गर्ने भएकाले उपभोग्य वस्तु तथा सेवाको माग विस्तार हुन्छ ।
चाडपर्वमा हुने खर्चले बजारमा कारोबार बढाए पनि त्यसबाट अर्थतन्त्रमा दीर्घकालीन लाभ लिन उत्पादन, रोजगारी र स्थानीय व्यवसायसँगको सम्बन्ध बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्ष विजयकुमार साहले चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र व्यापारिक गतिविधि विस्तार हुने बताउनुभयो । “दसैँमा सरकारी तथा निजी क्षेत्रमा काम गर्नेले तलबका अतिरिक्त चाडपर्व खर्च पाउँछन् । उनीहरूले गर्ने खर्चले बजारमा किनमेल बढाउँछ”, उहाँले भन्नुभयो ।
चाडपर्वका बेला बजारमा हुने कारोबारले आर्थिक गतिविधिलाई सक्रिय बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँका अनुसार चाडपर्वमा उपभोक्ताको माग बढ्दा व्यापारी, ढुवानी व्यवसायी, श्रमिक र विभिन्न सेवा प्रदायकले पनि काम पाउने अवसर बढ्छ ।
ग्रामीण बजारदेखि सहरी व्यापारसम्म प्रभाव
मधेस प्रदेशका आठ वटै जिल्लाका बजारमा चाडपर्वको चहलपहल बढ्नुका साथै सहरी क्षेत्रका ठूला व्यापारिक केन्द्रदेखि ग्रामीण बजारसम्म लत्ताकपडा, खाद्यान्न, मिठाई, पूजासामग्री र घरायसी वस्तुको बिक्री बढेको व्यवसायी बताउँछन् ।
क्षीरेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवका अनुसार दसैँअघि र चाडपर्वमा हुने कारोबार सामान्य समयको तुलनामा बढी हुन्छ । उहाँले चाडपर्व लक्षित छुट तथा आकर्षक योजनाका कारण पनि बजारमा रौनक बढेको बताउनुभयो । उहाँका अनुसार चाडपर्वको समयमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति बढ्ने भएकाले व्यवसायीका लागि यो अवधि महत्वपूर्ण हुन्छ । वर्षभरि हुने कारोबारमध्ये ठूलो हिस्सा चाडपर्वको समयमा हुने भएकाले व्यवसायीले यस अवधिलाई विशेष महत्व दिने गरेका छन् ।
जनकपुरधाममा दसैँदेखि छठसम्म सञ्चालन हुने सस्ता बजारले उपभोक्तालाई एउटै स्थानमा विभिन्न सामग्री खरिद गर्ने अवसर दिएका छन् । यस्ता बजारमा स्थानीय तथा राष्ट्रिय उत्पादनको बिक्री बढ्दा साना व्यवसायी, घरेलु उद्यमी र स्थानीय उत्पादकले पनि लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
विप्रेषण र चाडपर्व खर्चले बढायो बजारको माग
चाडपर्वको समयमा बजारमा माग बढ्नुको अर्को महत्वपूर्ण आधार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले चाडपर्व मनाउन तथा घरपरिवारको खर्च व्यवस्थापन गर्न रकम पठाउने क्रमले उपभोगमा सहयोग पुर्याउँछ । विशेषगरी मधेस प्रदेशका ग्रामीण क्षेत्रमा परिवारका सदस्यले विदेशबाट पठाएको रकमले लत्ताकपडा, खाद्यान्न, घरायसी सामग्री र अन्य आवश्यक वस्तु खरिद गर्न सहयोग गर्ने गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह रु दुई खर्ब १५ अर्ब पाँच करोड पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव दुई प्रतिशतले बढी हो ।
विप्रेषणको रकम घरपरिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आवश्यकतामा उपयोग हुने भएकाले यसले समग्र उपभोग र बजारको मागमा प्रभाव पार्छ । चाडपर्वका बेला घरपरिवारको खर्च थप बढ्ने हुँदा विप्रेषणबाट प्राप्त रकमको केही हिस्सा बजारमा प्रवाह हुने गर्छ ।
त्यस्तै, विदेशमा रहेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम बढ्दा हवाई सेवा, सार्वजनिक यातायात, होटल तथा रेस्टुरेन्टमा यात्रुको चाप बढ्ने गर्छ । यसले यातायात र आतिथ्य सेवासँग सम्बन्धित व्यवसायलाई थप कारोबारको अवसर प्रदान गर्छ । तर बजारमा हुने सबै खर्च उत्पादनमूलक क्षेत्रमा रूपान्तरण नहुने भएकाले चाडपर्वको आर्थिक प्रभावलाई दिगो बनाउन स्थानीय उत्पादनको उपभोग, रोजगारी सिर्जना र साना उद्यमको प्रवर्द्धन आवश्यक रहेको अर्थशास्त्रीहरूको भनाइ छ ।
चाडपर्वमा माग बढेसँगै बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव, गुणस्तरहीन वस्तुको बिक्री र म्याद गुज्रिएका सामग्रीको कारोबार हुन सक्ने जोखिम रहेकाले उचित मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने सरोकार भएकाहरू बताउँछन् । मधेस प्रदेशमा उत्पादित खाद्यान्न, मिठाई, हस्तकला, घरेलु सामग्री, परम्परागत पोसाक र स्थानीय उद्यमका वस्तुको बिक्री बढाउन सके साना उत्पादक तथा व्यवसायीको आम्दानी वृद्धि गर्न सहयोग पुग्नेछ ।
समग्रमा, दसैँपछि दीपावली, तिहार र छठसम्म जारी रहने चाडपर्वको मौसमले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने अवसर दिएको छ । बजारमा बढेको किनमेल, विप्रेषणको प्रवाह, कर्मचारीले पाउने चाडपर्व खर्च र पारिवारिक उपभोगले व्यापारिक कारोबार विस्तार गर्न सहयोग पुर्याएका छन् । यस अवधिमा बढ्ने आर्थिक गतिविधिलाई स्थानीय उत्पादन, रोजगारी र उद्यमशीलताको विकाससँग जोड्न सके चाडपर्वको रौनकले तत्कालीन व्यापारिक लाभसँगै अर्थतन्त्रमा दिगो योगदान पुर्याउन सक्नेछ ।

