औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो
काठमाडौँ, १२ कात्तिकः विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक प्रदूषण कम गर्न स्वच्छ ऊर्जा प्रयोगका लागि उद्योगहरूलाई प्रोत्साहन गर्न नेपाल स्वच्छ वायु तथा समृद्धि परियोजना अघि बढाइएको छ ।
एसोसिएसनले सो परियोजनाका लागि तीन करोड अमेरिकी डलर सहुलियत ऋण र ४० लाख अमेरिकी डलर अनुदान दिने सम्झौता भइसकेको छ । सो परियोजना कार्यान्वयन गर्न वित्तीय मध्यस्थकर्ता बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रदान गर्न नेपाल सरकार अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र बैंकबीच सम्झौता भएको राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उद्योगहरूलाई अनुदान उपलब्ध गराउन नेपाल सरकार उद्योग मन्त्रालय, उद्योग विभाग र बैंकबीच सम्झौता सम्पन्न भएको सूचना अधिकारी घिमिरेले बताउनुभयो । यो परियोजनाबाट करिब ४०० उद्योग लाभान्वित हुने बताइएको छ ।
परियोजनामार्फत औद्योगिक प्रदूषणको कारण खस्किएको वायुको गुणस्तरमा उल्लेख्य सुधार आउने दाबी गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकले हरित वित्त प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ ।

