यातायात क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न माग
काठमाडौँ, १० कात्तिक : यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न माग गरिएको छ ।
थाइल्याण्डस्थित बैङ्ककको चुलालङ्कन विश्वविद्यालयमा सोमबारदेखि सुरु भएको तीनदिने ‘प्रथम विश्व सार्वजनिक यातायात सम्मेलनमा’ नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपालमा कार्यरत यातायात क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारी कर्मचारीलाई सरकारले सञ्चयकोषको स्थापना गरी प्रोत्साहन गरेजस्तै सार्वजनिक यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने उल्लेख गर्नुभयो ।
सरकारी कर्मचारीका लागि भनेर कर्मचारी सञ्चयकोष स्थापना गरेर संरक्षण गरिएको भए पनि यातायात, निर्माण, नाई, गलैँचा उद्योगलगायत अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा नभएको भन्दै उनीहरुका लागि विशेष व्यवस्था हुनुपर्ने महासचिव राईले बताउनुभयो ।
प्रथम विश्व सम्मेलनमा विश्वभरका विभिन्न देशबाट अनुसन्धानकर्ता, सरकारका प्रतिनिधि, रोजगारदाता, विषयविज्ञ, विश्वविद्यालयका प्राध्यापक, श्रमिक युनियन, एसियन विकास बैङ्क तथा यस क्षेत्रमा क्रियाशील विभिन्न विश्वस्तरका गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन बुधबारसम्म चल्नेछ ।

