Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ब्राजिलमा लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | रासस/एएफपी

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । तर, उहाँले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताउनुभएको छ ।

    लुलाको विजयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अर्जेन्टिना, चिली, कोलम्बिया र पेरुलगायत देशमा देखिएको रूढीवादी राजनीतिक लहरलाई चुनौती दिएको छ । फ्लेभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुनुहुन्छ । जायर सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि विद्रोहको प्रयास गरेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ ।

    आइतबार मतदानको समय दुई घण्टा थप्ने सर्वोच्च अदालतको निर्णयले विवाद उत्पन्न गरेको थियो । नागरिकलाई मतदान गर्नबाट रोकिएको भन्दै बस सेवा सञ्चालनमा अवरोध भएको लुलाको गुनासोपछि समय थपिएको थियो । भारी वर्षाका कारण केही क्षेत्रमा समय थप्न फ्लेभियोले पनि आग्रह गर्नुभएको थियो । तर, उहाँले अदालतको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै निर्वाचन रद्द गर्न माग गर्ने बताउनुभयो ।

    सन् १९८९ यता पहिलो चरणमा पराजित उम्मेदवारले दोस्रो चरणमा जित हासिल गर्न नसकेको इतिहास यसपटक लुलाले बदल्नुभएको छ । पहिलो चरणमा मतदान नगर्ने मतदाताको अनुपात २१ प्रतिशतबाट घटेर १९ प्रतिशतमा झरेको थियो । विजयपछि रियो दि जेनेरियो र साओ पाउलोमा समर्थकहरूले आतसबाजी गर्दै उत्सव मनाएका थिए ।

    निर्वाचन अभियानमा सामाजिक सञ्जालको भूमिकालाई लिएर पनि विवाद भएको थियो । लुलाको अभियानले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटामाथि आफ्ना प्रतिस्पर्धीलाई अनुचित समर्थन गरेको आरोप लगाएको थियो । मेटाले आरोप अस्वीकार गरे पनि प्राविधिक त्रुटिका कारण लुलाका केही चुनावी विज्ञापन निष्क्रिय भएको स्वीकार गरेको थियो । लुलाले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्नुपर्ने बताउनुभएको छ ।

    सन् २००३ मा पहिलोपटक राष्ट्रपति बन्नुभएका लुला सन् २००६ मा पुनः निर्वाचित हुनुभएको थियो । भ्रष्टाचारसम्बन्धी मुद्दामा १८ महिनाभन्दा बढी जेल बसेपछि प्रक्रियागत आधारमा आरोप खारेज भएको थियो । उहाँ सन् २०२२ मा पुनः राष्ट्रपति बन्नुभएको थियो । तेस्रो कार्यकालमा मुद्रास्फीति र बेरोजगारी घट्नुका साथै लाखौँ मानिस भोकमरीबाट बाहिरिए पनि जीवनयापनको बढ्दो खर्च र अपराधले मतदातामा असन्तुष्टि कायम छ ।

    पैँतालिस वर्षीय फ्लेभियोले आफूलाई बुबाभन्दा मध्यमार्गी नेताका रूपमा प्रस्तुत गर्दै रूढीवादी र परिवर्तन चाहने मतदाताको समर्थन जुटाउनुभएको थियो । नयाँ कार्यकालको अन्त्यमा ८५ वर्ष पुग्नुहुने लुलाले दक्षिणपन्थी प्रभाव रहेको विपक्षी कङ्ग्रेससँग पनि काम गर्नुपर्नेछ ।

    अमेरिकाको व्यापारिक र कूटनीतिक दबाबबीच लुलाले राष्ट्रिय सार्वभौमसत्तालाई चुनावी मुद्दा बनाउनुभएको थियो । उहाँले ब्राजिल कसैको आँगन बन्न स्वीकार नगर्ने बताउनुभयो । विजयपछि चिलीका राष्ट्रपति जोस एन्टोनियो कास्ट, इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले उहाँलाई बधाई दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan