होटल तथा रेस्टुरेन्ट व्यवसायमा डिजिटल रूपान्तरण आवश्यक, ‘नेशनल डिजिटल लिटरेसी क्याम्पेन’ शुभारम्भ
काठमाडौं । ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजित ‘नेशनल डिजिटल लिटरेसी क्याम्पेन फर होटल एण्ड रेस्टुरेन्ट’ कार्यक्रम काठमाडौंको बालाजुस्थित संगम बाटिकामा सम्पन्न भएको छ।
कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायसँग सम्बन्धित सरोकारवालाले पर्यटन क्षेत्रलाई समयअनुकूल र प्रतिस्पर्धी बनाउन डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भएको बताएका छन्। विशेषगरी होटल तथा रेस्टुरेन्ट व्यवसायले सेवा, प्रचार–प्रसार, बुकिङ, ग्राहक व्यवस्थापन, भुक्तानी प्रणाली तथा बजार विस्तारमा डिजिटल माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले कार्यक्रमको उद्देश्य तथा वर्तमान समयमा डिजिटल साक्षरताको आवश्यकताबारे प्रकाश पार्दै होटल व्यवसाय अब परम्परागत शैलीमा मात्र सीमित रहन नसक्ने बताउनुभयो। उहाँले प्रविधिको विकाससँगै ग्राहकको व्यवहार र अपेक्षासमेत परिवर्तन भइरहेकाले होटल तथा रेस्टुरेन्ट व्यवसायले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा ‘Digital Literacy for Hotel and Restaurants’ विषयमा चन्द्रकुमार चक्रधरले प्रस्तुति दिनुभएको थियो। उहाँले होटल तथा रेस्टुरेन्ट व्यवसायमा डिजिटल प्रविधिको प्रयोग, अनलाइन सेवा, डिजिटल मार्केटिङ, ग्राहकसँगको डिजिटल सम्पर्क तथा प्रविधिको प्रभावकारी उपयोगका विषयमा जानकारी गराउनुभएको थियो।
त्यसैगरी कार्यक्रममा कृत्रिम बुद्धिमत्ता AI को सही र जिम्मेवार प्रयोगबारे समेत चर्चा भएको थियो। वक्ताहरूले एआईलाई व्यवसाय सञ्चालन, प्रचार–प्रसार, सामग्री निर्माण, ग्राहक सेवा तथा बजार विश्लेषणलगायतका क्षेत्रमा उपयोग गर्न सकिने बताउँदै यसको प्रयोग गर्दा सही सूचना, मानव नियन्त्रण र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका लक्ष्मण गौतमले पर्यटन बोर्डको धारणा तथा पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो प्रस्तुत गर्दै नेपालमा पर्यटनको सम्भावना, प्रवर्द्धनका प्रयास तथा डिजिटल माध्यमबाट नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने विषयमा शुभकामना मन्तव्य दिनुभएको थियो।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल तथा पर्यटन व्यवसायको विकासका लागि निजी क्षेत्र, सरकार र अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले पर्यटन क्षेत्रको विकासमा होटल तथा रेस्टुरेन्ट व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रविधिमैत्री पर्यटन विकासमा जोड दिनुभयो। उहाँले पर्यटनलाई आर्थिक गतिविधि, रोजगारी सिर्जना र स्थानीय उत्पादन तथा संस्कृतिको प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य होटल ब्यावसायी महासंघको प्रशासन तथा संगठन उपाध्यक्ष ज्ञानु गजमेरले दिनुभएको थियो। उहाँले डिजिटल युगमा होटल तथा रेस्टुरेन्ट व्यवसायीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै कार्यक्रमले व्यवसायीलाई प्रविधिको प्रयोगतर्फ थप उत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा डिजिटल प्रविधि र पर्यटनबीचको सम्बन्ध, होटल व्यवसायमा प्रविधिको बढ्दो आवश्यकता तथा बदलिँदो पर्यटकीय बजारबारे विभिन्न वक्ताले आफ्ना धारणा राखेका थिए। सहभागी वक्ताहरूले आजको पर्यटन बजारमा अनलाइन उपस्थिति, डिजिटल प्रचार, सामाजिक सञ्जाल, अनलाइन बुकिङ र ग्राहकसँगको तत्काल सम्पर्क व्यवसायको महत्वपूर्ण आधार बन्दै गएको बताएका थिए।
विश्व पर्यटन दिवसले पर्यटनलाई दिगो, समावेशी र स्थानीय समुदाय तथा अर्थतन्त्रसँग जोडेर विकास गर्ने विषयलाई निरन्तर महत्व दिँदै आएको छ।
कार्यक्रमको अन्त्यमा होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल ले धन्यवाद ज्ञापनसहित यो कार्यक्रमलाई देशैभरी सबै व्यवसायी माझ पु¥याउने लक्ष्य भएकोले सम्बन्धित निकायले साथ दिनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम महासंघका महासचिवले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम सफल बनाउनलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै नेपालले कार्यक्रम समापन गर्नुभएको थियो।
for more photo click here
