Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेइमान प्रचण्ड !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ३ शुक्रबार
newsabhiyan
newsabhiyan

डा. सुरेश आचार्य ,

प्रचण्ड र ओली एक भए । नेपाली राजनीतिमा यो अनौठो घटना होइन, तर आकस्मिक भयो । प्रचण्ड ओलीसँगै थिए । मिलेरै सरकार चलाए । धेरैलाई मन्त्री बनाए । जब प्रचण्डको प्रधानमन्त्री हुने पालो आयो, ओलीले छाडेनन् ।

प्रचण्डलाई प्रधानमन्त्री हुनै थियो । उनी शेरबहादुर देउवाको शरण परे । प्रधानमन्त्री भएपछि छाडिहाल्न मन थिएन । दोस्रो चरणको निर्वाचन गराउन पाए हुन्थ्यो भन्ने लागेकै थियो । तर फेरि आफू पनि केपी ओली नै कसरी हुनु ? यही प्रश्नले उनलाई घोच्यो र सरक्क उनले शेरबहादुरलाई छाडे ।

अरुलाई फेरि मन्त्री बनाए । बितेका दुई वर्ष माओवादी सरकारमै छ, निरन्तर छ । आगामी निर्वाचनसम्म कांग्रेससँगै सहकार्य गर्ने उनको वचन थियो । यही नाममा उनले छोरीलाई भरतपुरमा मेयर बनाए । धेरै ठाउँमा भाषण गर्दै पनि हिँडे । तर वन फाइन मर्निङ उनले देउवालाई सुनाए– म त ओलीसँग लाग्ने भएँ । शेरबहादुरले जिताएकी उनकी छोरी अब ओलीकी चेली बन्ने भइन् ।

राजनीति सम्भावनाको खेल हो । तर यो सम्भावनाको मात्र कुरा हो या बेइमानी ? अब सुन्निएको साँढे झैं ओली कांग्रेसविरुद्ध खनिन्छन् भन्ने लागर प्रचण्डले यतिचाहिँ पाठ पढाएछन्– दुवैले एकता भाषणमा यो कसैका विरुद्धको एकता होइन भने । फाइन ! तर शेरबहादुरलाई बीच बाटोमा छाडेर हिँड्नु प्रचण्डको इमान्दारी हो ? उनले इमान्दार देखिन चुनावमा एमालेसँग मिल्न गए पनि सरकारलाई भने निरन्तरता दिने बताए । यो देउवाप्रतिको इमान्दारी ठहर्ला, तर एमालेप्रतिको बेइमानी हो ।

यतिबेला माओवादी कोसँग निकट छ ? एमालेसँग कि कांग्रेससँग ?
एकताको घोषणा गरेर अझ पार्टी एकीकरणसम्म जाने सहमति गरेपछि स्वाभाविक रूपमा ऊ एमाले कित्तामा उभिन पुगेको छ । एमाले भनेको अहिले संसद्को प्रतिपक्ष हो । कांग्रेससँग सरकारमा बसिरहने भनेको सत्ता पक्ष हुने हो । हिजो माओवादीका नेता डा.बाबुराम भट्टराई एमालेलाई लिंग नखुलेको पार्टी भन्थे । आज माओवादी छाडेर एमाले निकट भएका डा.भट्टराईले एमालेसँगै एकै ठाउँमा उभिएको माओवादीको लिंग छुट्याउन सकेका छन् कि छैनन् ?

दुनियाँमा सत्ता र प्रतिपक्षको हैसियत एकैपटक कायम हुन सक्दैन । एकदलीय कम्युनिस्ट शासनमा विपक्षीको हैसियत रहँदैन । अर्थात् त्यहाँ प्रतिपक्षको कल्पना गरिँदैन । अधिनायकवादी सोचबाट वाम गठबन्धन बन्न नलागेको बताइरहँदा प्रचण्डले यो दुई लिंगी चरित्र देखाइरहन मिल्छ ? यो उनको कुन खालको राजनीतिक चरित्र हो ? प्रतिपक्षमा रहने भनेको सरकारबाट बाहिरिने हो ।

उनले माओवादी संसदीय दलको बैठकमा कांग्रेसले भन्यो भने सरकार छाड्न तयार भएको बताए छन् । एमालेसँग एकता गर्ने वक्तव्यमा हस्ताक्षर गर्न बोकेको कलमले मन्त्रीहरूको राजीनामा लेख्नुपर्ने सामान्य नैतिकता होइन ? राजनीतिको यो सामान्य सिद्धान्त अब प्रचण्डलाई शेरबहादुरले पढाइ दिनुपर्ने हो र ?

प्रचण्डले एउटा बेइमानी गरिसकेका छन् । दस महिना प्रधानमन्त्री बनाएको कांग्रेसले हो । शेरबहादुरले हो । बाँकी अवधि विना सर्त देउवालाई समर्थन गर्नु र चुनावी सहयोग गर्नु प्रचण्डको कर्तव्य हुन्थ्यो । त्यसपछि कोसँग, कुन आधारमा, कस्तो सहमति वा एकता गर्न मन लाग्थ्यो गरेको भए हुन्थ्यो ।

तर शेरबहादुरलाई बीच बाटोमा छाडेर नयाँ सम्भावना फेला प¥यो, म त हिँडे भन्नु सरासर बेइमानी हो । प्रचण्डसँगको सहकार्यका लागि शेरबहादुरले पार्टीमा ठूलै खतरा मोलेका हुन् । सैद्धान्तिक आधारमा पनि माओवादी चुनावी सहकार्यका लागि उचित पार्टी होइन भन्ने दबाबलाई थेगेका कारणले नै प्रचण्डले छोरीलाई मेयरका रूपमा देख्न पाए ।

अन्यथा यो जीवनमा प्रचण्डको यो आकांक्षा पूरा हुने थिएन । सम्भावना त भोलिका दिनमा अरु पनि फेला पर्न सक्छन्, तर प्रचण्डलाई कति विश्वास गर्ने भन्ने प्रश्न भोलि केपी ओलीले नै उठाए भने कुनै आश्चर्य हुने छैन । प्रचण्डले यतिञ्जेल आफूलाई केन्द्रमा राख्ने जे प्रयत्न गरेका थिए, सायद अब उनी पतनको बाटोमा उन्मुख भएका छन् ।

ओलीले एउटा आस देखाएका होलान्– अब पार्टीको अध्यक्ष बन्ने भनेकै प्रचण्डजी तपाई नै हो । अहिलेको एमाले विधानले ओलीलाई अर्को चुनाव लड्ने अधिकार दिँदैन । त्यसकारण प्रचण्डलाई लाग्यो होला– माधव नेपालभन्दा ओलीको प्रिय त म नै हुने छु । प्रचण्ड आफैं सदावहार पार्टी प्रमुख हुन् । उनले माओवादी पार्टीको अध्यक्ष मोहन वैद्यलाई पनि बन्न दिएनन् । डा.बाबुरामलाई धेरैपटक लिखत गरिदिए । पार्टी निर्णय गराए । तर कहिल्यै बनाएनन् । अब जिल्लिने पालो प्रचण्डको आएको हुनुपर्छ । पतनको सुरुवात त्यसकारण देखिएको हो ।

भलै प्रचण्ड एमाले वा एकीकरणपछि दिइने सम्भावित मालेमा (माक्र्सवादी, लेनिनवादी, माओवादी) को अध्यक्ष बनून् वा नबनून्, उनले राजनीतिमा बेइमानको एउटा पहिचान बनाएका छन् । राजनीति सधैंको बेइमानीमा चलिरहेछ भने प्रचण्डले फेरि पनि सफलता प्राप्त गर्लान् ।

अन्यथा उनले सहजै कसैको विश्वास प्राप्त गर्ने आधार समाप्त भएको छ । उनको यो चरित्रका बारेमा माओवादीहरू भलिभाँती जानकार छन् । यसका लागि वैद्य वा विप्लवलाई सोधिरहनै पर्दैन । थोरै पनि इमान्दारी कायम राख्ने हो भने प्रचण्डले सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर प्रतिपक्षी भूमिका निर्वाह गर्दा हुन्छ ।

सरकार कसरी चलाउने भन्ने चिन्ता अब प्रचण्डले गरिरहन पर्दैन । त्यो जिम्मा शेरबहादुुरलाई नै छाडिदिनु नै उचित हुन्छ । न्यूज अभियान डट कमका लागि तरुणका साथमा


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan