Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सडकमा आरजु देउवाको आतंक, युनिटीका ठग वाणिज्य बैंकको बोर्ड सदस्य

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत शाखा अधिकृत सरुवामा पनि बालुवाटारमा आरजु राणाको हस्तक्षेप हुने गर्दछ । कांग्रेसमा कोइरालाहरुको शासनमा भन्दा देउवाको शासनमा परिवारवादले सीमा नाघेको छ ।

सडक विभागका आयोजना, डिभिजनका सरुवामा समेत आरजुका भाइ भूषण राणाको निर्णय लागू हुने गरेको छ । सडक विभाग अन्तर्गतका ठेक्कापट्टाका निर्णय अहिले बालुवाटारस्थित प्रधानमन्त्री पत्नी आरजुको निर्देशन अनुसार हुने गर्दछ । आयल निगममा अरबको घोटालामा गोपाल खड्का बर्खास्त भए, तर सडकका ठेक्कामा भएका र भइरहेका अरबौं घोटालामा महानिर्देशक गोपाल सिग्देलको बारेमा अख्तियारदेखि कुनै निकायको ध्यान जान सकेको छैन ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले सडकका ठेक्कामा अरबौंको भ्रष्टाचार गरेका छन् । धरान–चतरा–हेटौंडा सडकदेखि गल्छी–स्याफ्रुबेसी ठेक्कामा अरबौं रुपैयाँ नीतिगत भ्रष्टाचार गरेका सिग्देललाई आरजुकै दबाबमा महानिर्देशक बनाइएको थियो । महानिर्देशक भएपछि आरजुकै आदेशमा एक महिनाभित्र करिब २० अर्बको ठेक्का टुंग्याउन लागिएको छ ।

जुन ठेक्कामा ६ वटा ठूला ठेकेदारसँग मिलेमतो ४ अर्ब भन्दा बढी घाटा सरकारलाई हुनेगरी सेटिङ भइसकेको छ । मध्यपहाडी पूर्वी र पश्चिम खण्डको करिब २० अर्बको ठेक्कामा आरजु देउवालाई मोटो रकम दिएको दृष्टिले जनाएको छ । मध्यपहाडी पूर्वी खण्डको ठेक्का मूल्यांकनको चरणमा छ भने पश्चिम खण्डको ठेक्काको टेण्डर सेटिङ अनुसार नै केही दिनभित्र सूचना निकाल्ने तयारी छ ।

यदि मध्यपहाडी पूर्वी र पश्चिम खण्डको ठेक्कामा सेटिङ नगरी स्वच्छ प्रतिस्पर्धा गराएको भए देशलाई ४ अर्ब बचत हुने थियो । तर ठेकेदारहरुसँग मिलेमतो गरी जति बजेट छुट्याएको छ, त्यति रकम नै टेण्डर प्रस्ताव हाली देशको बजेटमा ४ अर्ब नीतिगत भ्रष्टाचार हुन लागेको छ ।

कालिका कन्ष्ट्रक्सन, शर्मा एण्ड कम्पनी, लामा कन्ष्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, तुँदी कन्ष्ट्रक्सन जस्ता सात वटा कम्पनीले सार्वजनिक खरिद नियमावलीमा साना ठेकेदारलाई छिर्नै नदिने बुँदा राखी मिलेमतो गरी ठूला ठेक्कामा मिलेमतो गर्दैआएका छन् ।

साना ठेकेदारलाई विदेशी जेभी राख्न नदिने प्रावधान नियमावलीमा घुुसाएर सडकका ठेक्कामा अरबौं घोटाला हुँदैआएको छ । आरजुदेखि अख्तियारसम्मलाई मिलाएर हुँदैआएको अरबौं नीतिगत भ्रष्टाचारमा सबै तै चुप मै चुप छन् । टेण्डर निकाल्नुअघि नै मिलेमतो गरी मध्यपहाडी पूर्वी र पश्चिम खण्डको ठेक्कामा अग्रिम कमिसन आरजुकोमा पुगेको समाचार छ ।

भौतिक मन्त्रालयका एक सहसचिवले भने, भौतिक मन्त्रालयमा बीरबहादुर बलायर नेमप्लेट झुन्ड्याउने मन्त्रीमात्र हुन्, वास्तविक मन्त्री आरजुका भाइ भूषण राणा हुन्, उनको संकेतविना भौतिक मन्त्रालय र सडक विभागमा पात पनि हल्लिदैन । भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्की पनि उनका तामेलदार मात्र हुन् ।

युनिटीका ठग वाणिज्य बैंकको बोर्ड सदस्य
नेटवर्किङ व्यवसायमार्फत् सर्वसाधारणको झण्डै चार अर्ब रुपैयाँ ठगीमा मुछिएका जनक बराललाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय वाणिज्य बैंकको बोर्ड सदस्यमा नियुक्त गरेका छन् । बराल युनिटी लाइफको महत्वपूर्ण पदमा बसेकाले उनीविरुद्ध पनि ठगीमा मुद्दा दायर भएको थियो ।

३ लाख ६६ हजार भन्दा बढी सर्वसाधारण जनताबाट युनिटीले ठगी गरेको थियो । पूर्वअर्थमन्त्री कृष्णबहादुर महराको दबाबमा कांग्रेसका अर्थमन्त्री कार्कीले बराललाई बाणिज्य बैंकको बोर्ड सदस्य नियुक्त गरेको खुलेको छ ।

माओवादी कोटामा एक महिनाअघि मन्त्रीस्तरीय निर्णयबाट उनलाई बोर्ड सदस्य बनाइएको हो ।
जिल्ला अदालत ललितपुरले युनिटी लाइफका अध्यक्ष काशीराम गुरुङसहित १२ जनालाई ३ वर्ष कैदको सजाय तोकेको  छ । उनीहरुलाई अदालतले जनही १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ जरिवानासमेत गरेको थियो ।

त्यसैगरी उनीहरुबाट जम्मा बिगो १२ करोड ७५ लाख १५ हजार ३ सय १७ रुपैयाँ दामासाहीले बिगो भराउने फैसला गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले कैद र जरिवाना सजाय सुनाएकाहरुमा सञ्चालक नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टण्डन, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवाली छन् ।

उनीविरुद्ध प्रहरी प्रतिवेदन तथा दिनेशकुमार भण्डारीसमेतको जाहेरीले नेपाल सरकार बादी भई २०६७ जेठ २८ गते ललितपुर जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan