Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचनमय बातावरण बन्दै गर्दा निर्वाचनका लागि आवश्यक तयारी भने सून्य

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं । व्यवस्थापिका संसदमा दर्ता भएका निर्वाचन सम्वन्धि कानुनको संसदमा छलफल सुरु भएपछि अब मुलुक निर्वाचनको बाटोमा अघि बढेको आंकलन गर्न सकिन्छ । स्थानीय निर्वाचनका लागि दलीय सहमति त बनिसकेको छैन्, तर सबै पक्ष आन्तरिक तयारीमा जुटेकाले त्यसको सम्भावनालाई झन् प्रवल बनाएको छ ।

निर्वाचन सम्पन्न गर्ने आधिकारिक निकाय निर्वाचन आयोग मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारीमा जुटेको छ । तर, निर्वाचनका लागि आवश्यक ऐन नबन्दा आयोगलाई आफ्नो कामलाई तदारुकता दिन गाह्रो भइरहेको आयोगका कर्मचारीहरु बताउँछन् ।

निर्वाचनका लागि आवश्यक पर्ने १३ मध्ये अहिलेसम्म दुईवटा कानुनमात्र बनेका छन् । त्यतिमात्र होइन आयोगमा पदाधिकारी पनि नियुक्त गर्नुपर्ने छ । संविधान अनुसार पाँच आयुक्त हुने भए पनि अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन् । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने पाँच ऐनमध्ये संसद्ले सोमबार निर्वाचन कसुर र सजायसम्बन्धी ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित गरेको छ ।

अन्य तीन ऐनको विधेयक सरकारले २५ जेठमै संसदमा दर्ता गराएपनि अझै पारित हुन सकेका छैनन् । राजनीतिक दलसम्बन्धी, निर्वाचन आयोगसम्बन्धी र मतदातासम्बन्धी ऐनको विधेयक अहिले संसद्को राज्य व्यवस्था समितिमा छलफलमा छन् ।

मुलुक संघियतामा गएकाले त्यस अनुरुप गठन हुने प्रदेश र संघको निर्वाचनसम्बन्धी ऐनका मस्यौदा अहिलेसम्म निर्वाचन आयोगबाट मस्यौदा भएर गृह मन्त्रालयमा पुगेका छैनन् ।

नयाँ परिपेक्षमा आवस्यक पर्ने निर्वाचन क्षेत्र निर्धारण आयोग गठन समेत गठन हुन सकेको छैन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीको पारिश्रमक सेवा र सुविधाका सर्तसम्बन्धी ऐन, प्रदेश सरकार गठनसम्बन्धी ऐनले पनि निर्माण हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि आवस्यक तयारी सरकार र संसदले गरेपछि त्यसका स्टेक होल्डर राजनीतिक दलले पनि आफ्नो तयारी सुरु गरेका छन् ।

संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पार्टीको अवस्था बुझेर निर्वाचनको रणनीति बनाउन सबै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ । उनीहरूलाई एक महिनासम्म जिल्लाको अवस्था बुझेर केन्द्रमा प्रतिवेदन बुझाउने म्याण्डेट दिइएको छ । कांग्रेसले भ्रातृ संस्था तथा शुभेच्छुक संस्थालाई पनि चुनावी तयारी र संगठन सुदृढीकरणमा खटाउने निर्णय गरेको छ ।

मंसिरको अन्तिममा कांग्रेसले सबै जिल्लामा केन्द्रीय सदस्य जिल्ला पुगिसकेको केन्द्रिय कार्यालयले जानकारी दियो । सदस्यको प्रतिवेदनपछि चुनावी रणनीति बनाउने तयारी कांग्रेसको छ । केन्द्रीय सदस्यले निर्वाचनको वातावरण, पार्टीको अवस्था र गर्नुपर्ने कामबारे प्रतिवेदन दिएपछि केन्द्रमा समिति बनाएर चुनावी रणनीति तय गर्ने एक नेताले बताए ।

यता, संसदको दोस्रो ठुलो दल एमाले निर्वाचनकेन्द्रित चारमहिने जागरण अभियानमा छ । स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनकेन्द्रित भएर चारमहिने राष्ट्रिय जागरण अभियान चलाएको एमालेले निर्वाचन घोषणा भएमा माथिदेखि तलसम्मको पार्टीपंक्तिलाई तत्काल परिचालन गर्ने तयारी गरिरहेको छ ।

सातवटै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ र नगर तथा वडा तहसम्म अभियान चलाइएको एमालेले जनाएको छ । एमालेले संविधान कार्यान्वयन गर्न तीन तहकै निर्वाचन मिति छिटो घोषणा र कार्ययोजना ल्याउन सरकारलाई दबाब दिँदै आएको छ ।

मधेस केन्द्रित दलहरु भने संशोधन प्रस्ताव परिमार्जन सहित पारित भएमा मात्रै निर्वाचनमा जाने बताइरहेका छन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएमा निर्वाचनमा सहभागी हुने मधेसकेन्द्रित दलहरूको साझा धारणा छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि आगामी तीन महिनाभित्र आन्तरिक कार्यक्रम सकेर गाउँकेन्द्रित चुनावी अभियान थाल्न नेता(कार्यकर्तालाई सर्कुलर गरेको छ । थप रणनीति भने निर्वाचन मिति घोषणा गरेपछि तय गर्ने माओवादी केन्द्रको तयारी छ ।

त्यस्तै माओवादीले आगामी स्थानीय तहको निर्वाचन केन्द्रित तीनमहिने अभियान चलाउन लागेको छ । तीनमहिने अभियानका क्रममा माओवादीले पुस मसान्तसम्म पार्टी तथा मोर्चाका एकता सम्मेलन र प्रशिक्षण, माघमा गाउँ, नगर र वडामा आन्तरिक सम्मेलन तथा फागुनमा जिल्ला अधिवेशन गर्ने योजना माओवादीको छ ।

त्यो संगै माओवादी केन्द्रले निर्वाचन लक्षित गर्दै चुनावी नारा तय गरिसकेको छ । माओवादीले ‘गाउँ, नगर, घर (घर जाऊँ) माओवादी केन्द्रलाई विजयी गराऔँ’ भन्ने चुनावी नारा तय गरेको हो ।

यो पनि पढ्नुहोस् : फोटोसहितको मतदाता नामावली सङ्कलन


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan