Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्गमको एउटै गाउँमा ६६ वटा पसल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

भोजेन्द्र बस्नेत, सोलुखुम्बु, २७ पुस । दुर्गमको एउटा गाउँमा कतिवटा पसल हुनसक्लान् ? दुई÷चार वा बढीमा आठ÷१० वटा । तर सोलुखुम्बुको विकट गाविस गुदेलको पनि विकट गाउँ चाचालुङमा भने एउटै गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन् ।

गुदेल गाविस भवनबाट करिब ३ घन्टा टाढाको बाटोमा रहेको चाचालुङ गाउँमा दुईसय २३ घरधुरी रहेका छन् । त्यो बाक्लो बस्तीबाट अन्य गाउँमा पुग्नका लागि कम्तीमा २ घण्टा लाग्छ ।

त्यसैले अन्य कुनै पनि गाउँबाट त्यहाँ आवश्यक सामान किन्न आउँँदैनन्, तर गाउँकै दुईसय २३ घरका लागि ६६ वटा पसल रहेका छन् । अन्यत्र हिँड्ने बाटो पनि खासै नपर्ने भएकाले आवतजावत गर्नेले पनि त्यो गाउँमा सामान किन्दैनन्, तैपनि घरैपिच्छे जस्तो पसल सञ्चालनमा रहेका छन् ।

गाउँमा रहेको एउटै पसलमा चाउचाउदेखि चामल र सलाईदेखि जस्तापाता सबै पाइन्छ । एउटा पसलमा पसेपछि आवश्यकीय सबै सामान उपलब्ध हुने भएपनि धेरै पसल हुँदा व्यापार भने निकै कम हुने गरेको स्थानीय व्यापारी सरिमाया कुलुङ बताउनुहुन्छ ।

कृषि पेसामा आबद्ध त्यहाँका युवा धेरैजसो पर्यटकको भारी बोक्न जान्छन् र ट्रेकिङबाट फर्किएपछि पसलको सामान ल्याउने गरेको उनीहरुको भनाइ छ । पसल धेरै भएकाले कतिपयको सामान त एक वर्षसम्म बिक्री नभएर घरमै प्रयोग गरेर पनि सकिने गरेको पसल सञ्चालक नवीन कुलुङ बताउनुहुन्छ ।

प्रतिस्पर्धा भएकाले सस्तोमै सामान पाउँदा पसल नचलाउनेलाई सहज भएको छ । स्थानीय राजाराम कुलुङ भन्नुहुन्छ, “चाचालुङमा पसल गर्ने फेसन नै चलेको छ, वल्लो घरमा पनि पसल, पल्लो घरमा पनि पसल, सहर जस्तै छ, तर किन्नेहरु आक्कल झुक्कल मात्र आउँछन्, किन्नेलाई त फाइदा छ ।” चाचालुङमा पसलको सामान किन्नका लागि जिल्लाको नेले बजारबाट भरियालाई बोकाएर एकोहोरो तीन दिनभन्दा बढीको बाटो प्रतिकेजी रु ५० सम्म ज्याला तिर्नुपर्छ ।

महँगो ढुवानी भाडा तिरेर गाउँको पसलमा लगेको सामान दुई÷तीन वर्षसम्म पनि बिक्री नभएर त्यत्तिकै बसेको हुन्छ, चाउचाउ, बिस्कुटजस्ता धेरैजसो खाद्य वस्तु उपभोग्य म्याद सकिएको हुन्छ । तर, पनि याममा चार महिना ट्रेकिङ जाने युवा बाँकी आठ महिना गाउँमा बस्दा काम हुन्छ भन्दै पसल थप्ने क्रम अझै बढिरहेको नवीन कुलुङ बताउनुहुन्छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan