Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेची नदीमा पाँच हजार पूजास्थल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २६ सोमबार | (रासस)
newsabhiyan

भद्रपुर, २६ कात्तिक : पूर्वकै ठूलो छठ पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण धमाधम भइरहेको छ । भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा पाँच हजार पूजा स्थल (घाट) सहित तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैपट्टिबाट सबै समुदायको समान सहभागिता हुने गरी पूजास्थल निर्माण भइरहेको हो ।

पछिल्ला वर्षमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयवासीले यस पर्वलाई समावेशी साझा पर्वका रूपमा मनाउने गरेको पाइएको छ । बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र बिहान उदाउँदो सूर्यको पूजा गरी भव्य रूपमा मनाइने यो पर्वमा नेपालको जनकपुरपछिको दोस्रो स्थानको पूजा मण्डप र जनसहभागिता रहने भद्रपुरस्थित मेची नदीमा पूजा व्यवस्थापनलाई मजबुद बनाइएको छ ।

पूजा अवधिभर आपराधिक गतिविधि हुन नदिन वडा प्रहरी कार्यालय भद्रपुर र भारतको गलगलिया प्रहरी पोस्टले संयुक्त सुरक्षा गस्ती गर्ने सुरक्षा संयन्त्र तयार गरिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठले बताउनुभयो ।

नेपाल मात्र नभएर भारतको विहार तथा बङ्गाल राज्यका व्रतालु भक्तजन यसै नदीमा छठ पर्व मनाउँदै आएकाले भद्रपुरको छठ पर्वको छुट्टै विशेषता रहने गरेको मैथिली समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिनुभयो ।

मेची नदीमा पूजास्थल (घाट) व्यवस्थापनदेखि सरसफाइ, बाटो मर्मत, पण्डाल, बिजुली बत्ती जडान, शौचालय, निःशुल्क पानी तथा चिया वितरण, स्वास्थ्य शिविर, अस्थायी सुरक्षा क्याम्प बनाउनेलगायत कार्यमा मैथिली समाज लागिपरेको समाजका अध्यक्ष झाले बताउनुभयो ।

उहाँका अनुसार एक लाख भक्तजनले पूजास्थलको अवलोकन गर्नेछन् । भद्रपुर–५ को देवी बस्तीदेखि भद्रपुरको निर्माणाधीन मेची पुल दक्षिण सुकुम्वासी बस्तीसम्मको झण्डै तीन किलोमिटर क्षेत्रमा लामबद्ध नदीको दुवै किनारमा पाँच हजार हाराहारी पूजास्थल (घाट) बनाइएको छ ।

पूजास्थल वरपर अवलोकन गर्दा मेची नदीमा बिजुली बत्ती, केराको बोट, रङ्गविरङ्गी रिबन, विभिन्न किसिमका फूलले पूजास्थल सजावट गरी नदीलाई नयाँ बेहुली झँै सिङ्गारिने क्रम तीव्र बनाइएको छ । मेची नदीमा मनाइने छठ पर्वलाई दृष्टिगत गर्दैै वडा प्रहरी कार्यालय भद्रपुरले शान्ति सुरक्षा कडा पारेको छ ।

सीमावर्ती क्षेत्र भएकाले भारतीय सुरक्षाकर्मीसँंगको सहकार्यमा सुरक्षा व्यवस्था कडा बनाइएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जगेवुले जानकारी दिनुभयो । छठ पर्वका दिन ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५० भन्दा बढी प्रहरी परिचालन हुने जनाइएको छ ।

त्यसैगरी झापाको मेचीनगरस्थित नन्दा नदी, कनकाईको विरिङ खोला, कनकाई माई, दमकको रतुवा खोलालगायत दर्जनभन्दा बढी नदीमा पूजास्थल निर्माण गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan