Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यसरी आयो सेनामा नयाँ राजनितिक बहस

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार | Patrapatrika
newsabhiyan

असोज ३०, काठमाडौं । लोकतान्त्रिकरणका नाममा सेनाभित्र ‘सुक्ष्म व्यवस्थापन’ गर्न खोजे आफूहरुलाई स्वीकार्य नहुने र सेनाभित्रको भ्रष्टचारमा सेनामात्र दोषी रहन्न भन्ने प्रधानसेनापति पूर्णचन्द्र थापाको धारणाले राजनीतिक वृत्तमा नयाँखाले बहस आरम्भ भएको छ।

त्यस अतिरिक्त सैन्य विशेष अदालतका विषयमा सेना आफैंले सवल बनाउने उनको धारणाप्रति रक्षा मन्त्रालय गम्भीर बनेको छ। विशेष अदालतको एक पाटो मन्त्रालय हो। तर सेनाको प्राड विभागबाट सैन्य विशेष अदालतमा मुद्दा जाहेर भएको खण्डमा यो अदालत निस्कृय हुनै नसक्ने धारणा मन्त्रालयको छ। मन्त्रालयले सेनाको प्राड विभाग नै यसमा सुस्त रहेको रक्षा अधिकारीले बताए।

रक्षामन्त्रीदेखि अन्य मन्त्री एवं राजनीतिज्ञहरू जिज्ञासु बन्दै सोध्न थालेका छन्, ‘आखिरमा किन यस्ता धारणा नयाँ प्रधानसेनापतिले ल्याए। साच्चै सुधारको पाटो सुरु हुनै लागेको हो तरु’ अनौपचारिक रुपमा उनीसँग छलफल समेत गरिसकेका रक्षा अधिकारीले बताए।

शुक्रबार बिहान प्रधानसेनापति थापा राष्ट्रिय सुरक्षा नीतिको उच्चस्तरीय समितिको बैठक र साँझ रक्षा अधिकारीहरुलाई जंगिअड्डामा दिएको रात्री भोजमा समेत उनीहरूले प्रधानसेनापतिको धारणाबारेमा कुरा उठाएका थिए।

रक्षामन्त्रालयको स्वीकृतिमा नेपाली सेनाले १० वर्षपछि यो स्तरको पत्रकार सम्मेलन गरेको हो। प्रधानसेनापतिले पत्रकार सम्मेलन गरेर जवाफदेही बन्न खोज्नु आफैमा राम्रो विषय हो। यसमाथि प्रश्न खडा गर्न आवश्यक देखिँदैनु, रक्षा अधिकारीले स्पष्ट पारे। तर सवाल जवाफमा प्रधानसेनापतिले कतिपय विषयमा दिएको धारणाप्रति आम चासो बढेको हो। राजनीतिक दलले सेनामार्फत् काम गराउने र सेनालाई विकास निर्माणमा बढी नै तान्ने गरेको विषयले पनि अहिले यस्ता विषय चर्चामा आएको हुन्। सेनाको खरिद प्रकरणदेखि विकास निर्माणको विषय सधैं चर्चामा आउने तर सेलाउने गरेको छ। अहिले सेनाले नै भ्रष्टाचार स्वीकार गरेकालेले बहस भएको हो। कतिपय राजनीतिज्ञ आफ्नो कुरा बाहिर आउने हो कि भन्ने त्रासमा समेत रहेको अधिकारीले बताए।

प्रधानसेनापति शुक्रबार करिब तीन घण्टा रक्षामन्त्रालयमा राष्ट्रिय सुरक्षा नीति परिमार्जन बारेको बहसमा सहभागी थिए। त्यहाँ अन्य विषयमा छलफल भए पनि सम्मेलनको विषयमा पनि साइडलाइन छलफलहरु भए। प्रधानसेनापतिले आफूले सेनाको संरचनालाई पारदर्शी, अब्बल, अनुशासित बनाउने प्रयास गरेकोले सकारात्मक र रचनात्मक साथ चाहेको बताएका थिए। हालसम्म प्राप्त साथमा पनि उनले खुसी ब्यक्त गरेको अधिकारीले सुनाए।

आफूले महारानी भनिने प्रथा, अर्दली राख्ने, सेनापति हिँड्दा अधिकतम सुरक्षाकर्मी राख्ने, सेना भित्र व्यक्ति हावी हुने लगायत विषयलाई सुधार गरेर संस्थागत गर्न लागेको समेत उनले जानकारी दिएका थिए। त्यस्ता विषयमा सरकारको साथ उनले मागेको पनि अधिकारीले बताए।

उनले राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूलाई दिने सुरक्षा गार्ड पनि छिटो छिटो परिवर्तन गर्ने जानकारी दिए। एउटै व्यक्ति लामो समय बस्दा उसले त्यहाँबाट शक्तिको दुरुपयोग गर्ने र सुरक्षा पनि एकांगी हुने भन्दै उनले यसमा सुधार गर्न लगेको रक्षा अधिकारीले बताए।

सेनाका अधिकृतहरुसँग रहने सिपाही पनि परिवर्तन भइरहने विषय प्रधानसेनापतिले पहिले नै बताएकाले यसमा समेत सुधार हुने अपेक्षा गरिएको छ। कल्याणकारी कोषमा सुधार गरेका सेनापतिले अन्य धेरै क्षेत्रमा सुधारको खाका प्रस्तुत गरेकाले त्यसको सुधारको लागि आवश्यक तयारी चाहिने बताए।

प्रधानसेनापतिले सेना भित्र भ्रष्टाचार रहेको तर यसको नियन्त्रण सैन्य विशेष अदानलतबाट हुने बताएका थिए। यस विषयमा पनि मन्त्रालयलाई सेनाले आफ्नो ढंगबाट अघि बढाउन लागेको भन्ने भाव झल्केको समेत रक्षा अधिकारीहरूको धारणा छ। रक्षामन्त्रालय र सेनाबीच पहिले देखि नै राम्रो सहकार्य नभएको अवस्थामा अलिहे झन् फरक ढंगका धारणाहरू बाहिर आएका हुन्।

नवनियुक्त रक्षा प्रवक्ता बाबुराम गौतमले सेनापतिले सुधारको पक्षमा रहेर बोलेको विषय भन्दै टिप्पणी गर्न चाहेनन्। त्यसबारे औपचारिक छलफल नभएको र अनौपचारिक केही भएको भए आफूलाई जानकारी नभएको उनको भनाई छ। ‘म हिजोबाट मात्र प्रवक्ता तोकिएको हुँ,’ उनले भने, ‘यसबारेमा बुझौँला। मन्त्रालयमा बैठक भएकाले केही अनौपचारिक छलफल भएको हुनसक्छ। तर नराम्रो पक्ष केही छैन। सुधारको विषयमा छलफल भएका छन्। हामी धेरै कामहरू गर्न अग्रसर छौँ। गरिरहेका पनि छौँ।’

रक्षा मन्त्रालयले सेनाले पठाएको सबै विषयलाई स्वीकार गरिदियोस् झैं ठान्ने तर रक्षाले त्यसो नगरेपछि सेनाभित्र यस्ता विषय बहस हुने गरेको पाटो पनि रक्षा अधिकारीले बताए। उपप्रधान एवं रक्षामन्त्री पोखरेलले पनि सेनाको विषयमा मन्त्रालय स्पष्ट रहेको र कुनै समस्या नभएको बताए।

सेनाले मन्त्रालयको स्वीकृति लिएर नै पत्रकार सम्मेलन गरेको र त्यहाँ व्यक्ति विषयलाई कार्यावन्यनमा ल्याउन सके राम्रो हुने आफूले देखेको उनको भनाई छ। केही विषय सधैँ छलफल हुने नै विषय हुन्। नरम र सरल देखिने प्रधानसेनापति थापाको प्रस्तुति कडा रहेकाले सबैमा आशंका ब्यक्त भएको हो। प्रधानसेनापतिले पत्रकार सम्मेलनमा मुलुक र संविधानको रक्षा सेनाले नै गर्ने हो भन्दै यसमा सेना कहिल्यै विचलित नहुने समेत स्पष्ट पारेका थिए।

उनले विखण्डनकारीहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारले गरेको प्रयासको प्रशंसा गर्दै सेनाले त्यस्ता गतिविधिलाई सुक्ष्म अध्ययन गरिरहेको बताए। सेनाभित्रको भ्रष्टचारलाई बाह्य पक्षसँग समेत जोडेका थिए। उनले अन्य सुरक्षा निकायसँग गर्ने सहकार्यदेखि सेना सधैँ तयारी अवस्थामा बस्ने विषयमा राखेको धारणाले चासो ब्यक्त भएको हो। सेनाले आफूलाई आधुनिकीकरण गरेर अघि बढ्ने र अन्य मुलुकसँग प्रशिक्षण सहकार्य गर्ने लगायतको धारणा बाहिर ल्याएको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan