Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिम्स्टेक नेपालका लागि अवसर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ १५ शुक्रबार |
newsabhiyan
newsabhiyan

संगीता रेग्मी, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रका प्रयास बिम्स्टेकको चौथो सम्मेलन सम्पन्न भएको छ । बिमस्टेक होस् वा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), त्यति संगठित र व्यवस्थित हुन सकेको छैन ।

नेपालले अहिले सार्क र बिम्स्टेक दुवैको अध्यक्षता गरिरहेको छ । सन् २०१४ देखि यो मञ्चको नेतृत्व गरिरँहदा बेलाबेलामा हुने सरकार परिवर्तन र आन्तरिक खिचातानीले गर्दा प्रभावकारी संगठनका रूपमा दिशानिर्र्देशन गर्ने क्षमता नेपालसँग नभएको प्रष्ट देखिन्छ ।

ऐतिहासिक संविधानसभाबाट संविधान बनाएको र दुई तिहाई बहुमतको सरकार निर्माण गरी शक्तिशाली सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनलाई सफल रूपमा सम्पन्न गरे ।

तर, दुई तिहाईले मात्र कुटनीति चल्दैन भन्ने केपी ओलीले पनि बुझ्नु जरूरी छ । लामो समयपछि स्थिर सरकार पाएको नेपालले विश्व समुदायमा आफ्नो आत्मविश्वास बढाउन र एजेण्डाबारे प्रष्टताका साथ व्यक्त गर्न पनि यो मञ्चलाई उपयोग गरेकै हो ।

सार्कको विकल्प बिम्स्टेक  होइन भनेर विज्ञहरूले भन्दै आइरहँदा र सार्क कमजोर भएको स्थितिमा नेपालमा भएको बिम्स्टेक सम्मेलनलाई अझ महत्वका साथ हेरिएको थियो ।

भारत र पाकिस्तानको आन्तरिक विवादका कारण पाकिस्तानमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन हुन नसकिरहेको अवस्थामा २०१६ मा नै हुनुपर्ने बिम्स्टेकको चौथो सम्मेलन दुई वर्ष पछि नेपालमा हुँदा यो सम्मेलनबाट केही लाभ लिन सकिने आशा गर्न सकिन्छ ।

नेपालले सम्मेलन आयोजक राष्ट्रका रूपमा यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने, गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै लगानी र भन्सारसम्बन्धी मामिलामा पारस्परिक सहयोग, द्वन्द्व समाधान तथा व्यापार सहजीकरणमा भौतिक रुपमा सम्पर्क विस्तार, भौतिक पूर्वाधार र उद्योगका माध्यमबाट सम्बन्ध र सम्पर्क स्थापना, सदस्य देशबीचका बजार र सदस्य राष्ट्रका नागरिक–नागरिकबीचको सानिध्यबाट नवप्रवत्र्तन, आर्थिक वृद्धि र प्रगतिपथमा प्रभावकारी अग्रसरतामा यो संगठनले ध्यान दिनुपर्ने बताए ।

नेपाल अर्थपूर्ण क्षेत्रीय सहयोगका लागि प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले यस क्षेत्रमै कार्यरत सार्क र बिमस्टेक एकार्काका प्रतिस्थापक नभई परिपूरक रहेकामा नेपालको विश्वास रहेको आफ्नो धारणा प्रष्ट पारे ।

त्यस्तै भारतका प्रधामन्त्री नरेन्द्र मोदीले सदस्य राष्ट्रहरुको बिचमा महिला संजाल बनाउन जोड दिए भने बिमस्टेक सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको पनि बताए ।

त्यसैगरी बंगलादेश, भुटान, म्नान्मा, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुखहरूले पनि सदस्य राष्ट्रहरूको आर्थिक र राजनीतिक अवस्थामा सुधार आवश्यक, जलवायू परिवर्तन विरूद्ध लड्न साझा संकल्प आवश्यक रहेको बताउँदै सदस्य राष्ट्रहरू एक हुनुपर्ने धारणा व्यक्त गरे ।

व्यापार तथा लगानी, प्रविधि, उर्जा, यातायात तथा सञ्चार, पर्यटन, मत्स्यपालन, कृषि, सांस्कृतिक सहयोग, वातावरण तथा विपत् व्यवस्थापन, जनस्वास्थ्य, जनस्तरको सम्बन्ध, गरिबी निवारण, आतंकवाद तथा संक्रमणकालीन अपराध र जलवायु परिवर्तन जस्ता मुद्दाहरूमा राष्ट्रहरूबीच सहकार्य गरेर अगाडि बढ्नु नै बिमिस्टेकको उद्देश्य हो ।

तर, विमिस्टेकबाट नेपालले वा अन्य सदस्य राष्ट्रले तत्काल कुनै लाभ लिने अपेक्षा लिनु तत्कालका लागि महत्वकांक्षा मात्र हुनेछ । अहिलेसम्म यो मञ्च संगठन बनिसकेको अवस्था छैन । यद्यपि यदि यो मञ्चले अबको दिनमा राम्ररी काम गर्न सक्यो भने सबै राष्ट्रहरूलाई फाइदा हुनेमा शंका छैन ।

नेपाल र भुटान जस्ता भुपरिवेष्ठित मुलुकहरूले समुद्रसम्म पहुँच बनाएर अझ बढी फाइदा लिन सक्छन् । यो संगठन मार्फत नेपालले समुद्रको उपयोगमा पहुँच बढाउन प्रयत्न गरेको छ भने हिमालदेखि बग्ने नेपालका सबै नदीनाला बंगालको खाडीसम्म पुग्ने भएकाले यस क्षेत्रमा जलवायु परिवर्तन, पर्यावरण र प्राकृतिक प्रकोप न्यूनीकरणका लागि पनि बिमिस्टेकको प्राथमिकतामा पार्नुपर्छ । 

बिमिस्टेकमा सदस्य राष्ट्रहरूमा बुद्ध धर्मावलम्बी र त्यससम्बन्धी सम्पदा छन् । त्यसो त त्यहाँका जनतामा पनि बुद्धसम्बन्धी आस्था पक्कै होला । सन् २०२० मा भिजिट नेपाल वर्ष मनाउने लक्ष्य लिएर अगाडि बढिरहेको नेपालले त्यसै वर्ष लुम्बिनीमा बिमिस्टेक बौद्ध सम्मेलन गर्ने पनि प्रस्ताव नेपालले सम्मेलनमा गर्नुपर्दथ्यो यो विषयमा चुकेको देखिन्छ  ।

बिमिस्टेक मार्फत नेपालले दक्षिणपूर्व एसियाका मुलुहरूसँग व्यापार, यातायात, पर्यटन र ऊर्जा व्यापार लगायातका धेरै विषयमा लाभ लिन सक्छ भन्ने बुझ्न अब ढिला भईसकेको छ । 

सार्क र बिमिस्टेकका उद्देश्य लगभग समान भए पनि फरक फरक राष्ट्रहरू मिलेर बनेका यी दुई संगठनका उद्देश्य एकै वा उस्तै हुन सक्दैनन् । त्यसैले सार्कको विल्कप बिमिस्टेक हुँदै होइन् । सार्क र बिमिस्टेक दुवैलाई एकअर्काको परिपूरकको रूपमा अघि बढाइनुपर्छ । दुवै संगठनको अध्यक्ष रहेको नेपालले लामो समयदेखि हुन नसकेको सार्क शिखर सम्मेलन गराउन पहल गर्नुपर्ने देखिन्छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान लिएर अगाडि बढेको दुई तिहाई बहुमतको सरकारले अब आफ्नो कुटनीतिलाई पनि बलियो बनाउनु पर्ने समय आइसकेको छ ।

देशभित्रको आन्तरिक व्यवस्था जे—जस्ता भएपनि पार्टीगत रूपमा विभाजित भए पनि कुटनीति मुलुकको साझा नीति अनुरूप हुनुपर्छ, विभाजित भएर प्रस्तुत हुनुहँुदैन । सार्क होस् वा बिमिष्टेक, यस्ता सम्मेलन र संगठनहरूबाट नेपालले फाइदा लिनुपर्छ । अनि विकासको गतिमा पनि सहयोग पुग्ने निश्चित छ ।

सार्कको स्थापनाका दुई दशकताका एउटा प्रश्न गर्ने गरिन्थ्यो – क्षेत्रीय सङ्गठनका रूपमा सार्कले दुई दशक काम गर्दा पनि दक्षिण एशियामा किन गरीबी हटेन त ?

कूटनीतिक क्षेत्रमा यस प्रश्नप्रतिको अर्काे प्रतिप्रश्न यसरी गरिन्थ्यो – त्यसो भए शान्ति स्थापनाको मुख्य उद्देश्य राखेर जन्मिएको संयुक्त राष्ट्र सङ्घ पछि पनि के विश्वमा शान्ति छाएको छ त ? यी दुवै प्रश्न सही हुन् । तर उत्तर निकै जटिल छ । यस्तो प्रश्न भोलि बिमस्टेकलाई पनि आउन सक्छ ।

त्यसैले जवाफका लागि सहकार्य, एकता र आत्मीयताका साथ यस्ता क्षेत्रीय सङ्गठनहरूले काम गर्नुपर्छ । अन्यथा बडापत्र एकातर्फ र घोषणापत्र अर्काेतर्फ हुने खतरा सधैँ जीवितै रहन्छ ।  (मधेश दर्पण फिचर सेवा)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan