Monday 23rd of July | २०७५ श्रावण ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सशस्त्रको बढुवामा फेरि काखा–पाखा, कर्णेलहरुको विवादित बढुवा सदर !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ असार । सशस्त्र प्रहरी बलले २०७५ असार १ गते निकालेको २४ एसएसपीको सरुवामा कनिष्टलाई आकर्षक र कमाउ कार्यालयमा सरुवा गरिएको छ भने क्षमतावान र वरिष्ठलाई पाखा लगाइएको छ ।

सशस्त्रका आईजीपी खनालले सशस्त्रको मालदार मानिने र काठमाडौंमा इन्चार्ज भएर बस्न पाउने युएन तालिम केन्द्र ककनीमा उनका निकट गणेशबहादुर ठाडामगरलाई सरुवा गरेका छन् ।

एसपी हुँदा सीमा सुरक्षा कार्यालयमा ब्रम्हलुट गरी आईजीपी खनाललाई खुसी बनाएबापत शम्भु सुवेदीलाई बर्दघाट तालिम केन्द्रमा सरुवा गरिएको छ । किशोर प्रधानलाई प्रशिक्षण प्रतिष्ठान र प्रजाभक्त श्रेष्ठलाई विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा लगेका छन् ।

एसएसपीका लागि सशस्त्रका तालिम केन्द्र आकर्षक मानिन्छन् । भावी आईजीपीका दाबेदार मानिएका वरिष्ठ एसएसपीत्रय राजु अर्याल, चन्द्रप्रकाश गौतम र नारायणदत्त पौडेलमध्ये अर्याल र गौतमलाई बाहिनी र राष्ट्रिय सुरक्षा परिषद्मा खटाइएको छ ।

आईजीपी शैलेन्द्र खनालका अति निकट एसएसपी नारायणदत्त पौडेललाई काठमाडौं उपत्यका सुरक्षा कार्यालय (इन्ट) मा खटाइएको छ । अर्याल, गौतम र पौडेल डीआईजीका प्रतिस्पर्धी हुन् ।

अर्याल र गौतमलाई डीआईजी बढुवाबाट पछि पार्न र आफ्ना विश्वासपात्र पौडेललाई नेताहरुसँग लबिङ गर्न सहज बनाउनका लागि उनलाई उपत्यका सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । जहाँ कुनै काम हुँदैन, युनिफर्म समेत लगाउनु पर्दैन ।

सशस्त्रको गुप्तचरी गर्ने उपत्यका सुरक्षा कार्यालय इन्टमा आईजीपी खनालले एसएसपी पौडेललाई लानुको कारण दुई वटा रहेको स्रोत बताउँछ । प्रथमतः डीआईजी प्रतिस्पर्धाका लागि सजिलो पार्नका लागि शक्ति केन्द्र धाउन सहज बनाउन ।

अर्को आफ्ना विरोधीहरु को को कहाँ जान्छन्, कस कसलाई भेट्छन्, त्यसको सूचना संकलनका लागि पनि हो । व्यवसायिक हिसाबले अब्बल एसएसपी अर्याल र गौतमलाई एकजनालाई १० देखि ५ बजेसम्म निस्कन समेत नमिल्ने राष्ट्रिय सुरक्षा परिवद् र पोखरा बाहिनीमा थान्को लगाएर डीआईजी बढुवाका लागि हलचल गर्न नदिनेगरी योजनाबद्ध रुपमा पौडेललाई मात्र फुक्काफाल शक्ति केन्द्र रिझाउन सहज पारिदिएका छन् ।

एसएसपी पौडेल पटक पटक विवादमा परेका र भ्रष्टाचारको आरोपमा छानबिनमा परेका हुन् । पौडेल निलबाराही गणको गणपति हुँदा सरकारले खाना पकाउन इन्धनको व्यवस्था गरे पनि धादिङको जंगलमा दाउरा काट्न पठाउँदा सिपाहीको मृत्यु भएको थियो ।

पौडेल नै इन्धनको बजेट भ्रष्टाचार गर्ने र खाना पकाउनका लागि सिफाहीलाई दाउरा काट्न जंगल पठाएका थिए । आईजीपी खनालले नै त्यतिबेला सिपाहीको मृत्युका कारण पौडेललाई जोगाएका थिए । ककनी तालिम केन्द्रका प्रमुख हुँदा रासन घोटाला गरेपछि आन्तरिक छानबिन समिति नै बनेको थियो ।

छानबिन समितिले पौडेललाई दोषी ठहर गरे पनि त्यो रिपोर्ट नै खनालले गायब पारी कारबाहीबाट बचाएका थिए । पकली गणमा हुँदा चेन अफ कमाण्ड नमानेको आरेपमा कारबाहीमा परेका पौडेल मौसम अनुसार रंग फेर्न माहिर मानिन्छन् ।

आईजीपी खनाल जति चटके हुन्, त्यस्तै चटके मानिन्छन् पौडेल । हिजो कांग्रेसका नेता पूर्णबहादुर खड्काका निकटस्थ भने र चिनाउने उनी अहिले नेकपाका नेता शक्तिबहादुर बस्नेतको नाम बदनाम गर्दै हिँडेका छन् ।

एसएसपी सरुवामा गोपाल मिश्र वैद्यनाथ बाहिनी, भरतकुमार श्रेष्ठ बराह बाहिनी, रामप्रकाश श्रेष्ठ राजस्व तथा औद्योगिक सुरक्षा निर्देशनालय, गोविन्द क्षेत्री कार्यविभाग, हरिशंकर बुढाथोकी महेश्वर बाहिनी, कृष्णभक्त ब्रम्हचर्य सुरक्षा महाशाखा, राजेन्द्र बस्नेत तालिम महाविद्यालय, हरिशचन्द्र अधिकारी मानवस्रोत विकास विभाग छन् ।

त्यसैगरी बेचन यादव राजस्व तथा औद्योगिक सुरक्षा निर्देशनालय, वंशीराज दाहाल व्यवसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय, अभिकुमार खत्री उपत्यका सुरक्षा कार्यालय, दुर्गाप्रसाद भट्टराई मानवस्रोत विकास विभाग, कमल गिरी नौबस्ता तालिम केन्द्र, राजेन्द्र शाक्य रुद्र बाहिनी, कुलबहादुर नेम्वाङ प्रशासन विभाग, महेशकुमार श्रेष्ठ सुरक्षा परिषद्को सचिवालय र विजयकुमार पण्डित आईजीपीको सविचलायमा सरुवा भएका छन् ।

कर्णेलहरुको विवादित बढुवा सदर
नेपाली सेनाका २० जना सेनानीहरु सेनाको सिफारिस बमोजिम २०७५ जेठ ३१ ग्ते बसेको मन्त्रिपरिषदले महासेनानीमा बढुवा गर्ने निर्णय गरेको थाहा भएको छ ।

सेनाको बढुवा समितिले गरेको सिफारिसलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले केही हेरफेर गरेर २०७४ चैत २५ मा बढुवा सदर गरेको स्रोतको दाबी छ ।

सेनाले ४७ जना प्रमुख सेनानीको बढुवाका लागि सरकार समक्ष सिफारिस गरेपछि बढुवामा २९ बेसिक देखि ३५ बेसिकसम्मका सेनाको महत्वपूर्ण कोर्ष स्टाफ कलेज गरेका, मास्टर्स गरेका, शैक्षिक अन्य योग्यता पनि अब्बल, व्यवसायिक तर सोर्सफोर्स नभएकालाई बढुवाका लागि सिफारिस नगरेर संस्थाले घोर अन्याय गरेको गुनासोहरु चर्किएपछि सेनाको बढुवा सिफारिस विवादित बनेर बढुवा रोकिएको थियो ।

म.से.मा बढुवा विवादले गर्दा मन्त्रिपरिषद्मै लगभग एक महिना पदोन्नतिको फाइल रोकिएको थियो । ३६ बेसिकभन्दा ७ ब्याच अगाडिका प्रमुख सेनानीहरुलाई लत्याएर सोर्सफोर्स हुने र आफन्तलाई प्रमुख सेनानीहरुलाई महासेनानीमा बढुवाको सिफारिस गरेर बरिष्ठ प्र.से.हरुप्रति घोर अन्याय गरिएको गुनासो सेनाको हेडक्वाटरदेखि मन्त्रिपरिषद्सम्म व्यापक छाएको थियो ।

सैनिक नियमावली २०६९ मार्फत सेनाले लागु गरेको फास्ट ट्रयाक अनुसार, अति योग्य समूहबाट ३६ बेसिकका पदम बुढा, माधव थापा र रन्जित थापाले २० बेसिकका प्रमुख सेनानीलाई उछिनेका थिए ।

अति योग्य समूहमा सानुकाजी थापा, शक्तिजंग बस्नेत, महेश कुमार थापा, पूर्णबहादुर खत्री, भुवनपूर्ण सत्याल र द्रव्यराम घण्डारी बढुवा सिफारिस भए अनुसार मन्त्रिपरिषद्को २०७५ जेठ ३१ ग्तेको निर्णयबाट बढुवा हुन सफल भएका छन् ।

सेनाले पदोन्नतिका लागि सिफारिस गरेका र सरकारबाट बढुवाको स्वीकृति पाएका महासेनानीहरुलाई २०७५ सालभित्र रिक्त हुन आउने पदमा नियमावली २०६९ को नियम ३८ को (३) अनुसार, वरिष्ठको मर्यादाक्रम बमोजिम पदस्थापन गरिदै लगिने स्रोतले बताएको छ ।

त्यसैगरी बढी योग्य समूहमा परेर महासेनानीमा बढुवा भएका ३० जना प्रमुख सेनानीहरुले पनि पद रिक्त भए अनुसार, वरिष्ठका आधारमा क्रमशः २०७५ चैत मसान्तभित्रै फुली लगाउने अवसर पाउने छन् ।

त्यस्ता भाग्यमानी कर्णेलहरुमा सैनिक आवासीय महाविद्यालयका भुपालमान अधिकारी, क.का योजना निर्देशनालयका रामचन्द्र कार्की, मध्यपश्चिम पृतना हे.क्वाका अनिल सिंह, मध्यपूर्वी पृतना हे.क्वाको लिलाबहादुर खनाल, नं.२२ बाहिनी अड्डाका मदन बन्जारा, सर्वोत्कृष्ट अभ्यास महाशाखाका सुनिलकुमार घलेगुरुङ, नं.२ बाबिनी अड्डाका ललितबहादुर कुँवर, ७ बाहिनी अड्डाका ललितबहादुर कुँवर, बलाधिकृत कार्यालयका धनबहादुर थापा, क.का.यो.नि आवास तथा बीमा शाखाका रोशन खड्का, सैनिक बन्दोबस्ती शिक्षालयका सोबेन्द्रसिंह महत, शा.से.स.निर्देशनालयका रोशन शमशेर जबरा, नं. २५ बाहिनी अड्डाका प्रकाश थापा पश्चिम पृतना हे.क्वाका जगतबहादुर पौडेल, राष्ट्रपतिका कार्यालयका आशिषप्रसाद उपाध्याय, युद्धकार्य निर्देशनालय बलाधिकृत विभागका मनोज थापा, नीति तथा योजना निर्देशनालयका रत्नबहादुर गोदार, नं. ३ बाहिनी अड्डाका मनोज बैदवार, बीरेन्द्र शान्ति कार्य ता.केन्द्रका राजेन्द्रमणि गिरी, मनौबैज्ञानिक कार्य महाशाखाका रामचन्द्र खत्री, सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रकाशबहादुर चन्द, निरीक्षण निर्देशकका सुवास थापा नं.१६ बाहिनी अड्डाका रामकाजी थापा, वीरेन्द्र शान्ति कार्य ता.केन्द्रका श्रवणकुमार विष्ट, नेपाली सैनिक वार कलेजका कमल बानिया, सैनिक कमाण्ड तथा स्टाफ कलेजका राजाराम बस्न्यात, विपद् व्यवस्थापन तालिम शिक्षालयका राजप्रताप जबरा, सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका संजय देउजा, कालीप्रसाद गण (ई) का पुरन घले र सैनिक कमाण्ड तथा स्टाफ कलेज राजेन्द्र श्रेष्ठ रहेका छन् ।

सैनिक नियमावली २०६९ बाबुराम भट्टराई प्रधानमन्त्री र गौरव शमशेर जबरा प्रधानसेनापति भएको समयमा आएको हो । यो नियमावली गौरव शमशेरले कसको स्वार्थका लागि किन ल्याए ?

जसका लागि ल्याए पनि नेपाली सेनाभित्र यो नियमावली लागू भएपछि निकै असन्तुष्टि र नैराश्यता उत्पन्न गराएको बताइन्छ, साँघुमा उल्लेख छ ।

यो नियमावलीले सेनाका एक से एक योग्य अधिकृतहरु फालिँदै आएका छन् । कतिपय प्रमुख सेनानीहरु महासेनानी हुने अवसर आउने हो कि होइन भन्ने चिन्ताले पिरोलिएर बसेको पाइन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan