Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रचण्डले भने, हामी भारतीय चंगुलमा फस्यौं, ईश्वर पोखरेल छक्किए-मन्त्रीका लागि एमालेमा दुई दर्जन नाम

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ७ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ फागुन । आफूलाई भारतले आवश्यकभन्दा बढी महत्व दिएको  भन्दै यसको रहस्यबारे प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना निकटस्थ परराष्ट्र मामिला विज्ञसँग छलफल गरेका छन् ।

निर्वाचन सम्पन्न भएयता र प्रधानमन्त्री नियुक्त हुनुअघिको ७० दिनको अवधिमा तीनपटक टेलिफोन गरेका र विदेशमन्त्रीलाई नै विशेष दूतका रूपमा भेट्न पठाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त हुना साथ पनि ओलीलाई टेलिफोन गरेका थिए ।

फागुन ३ गते राति ११ बजे टेलिफोन गर्दै मोदीले भारत भ्रमणका लागि छिट्टै औपचारिक निमन्त्रणा पठाउने जनाएका थिए । समाचार स्रोतका अनुसार भोलिपल्टै भारतीय राजदूतले ओलीलाई भेटेर दिल्ली भ्रमणको औपचारिक निमन्त्रणा गरेका छन् । जवाफमा ओलीले यथाशक्य अनुकूल समयामा भारत भ्रमण गर्ने बताएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली संसद्बाट विश्वासको मत लिएर मात्रै भारत भ्रमण गर्ने तयारीमा छन्, तर भारतीय प्रधानमन्त्री मोदी भने विश्वासको मत लिनुअघि नै ओलीलाई दिल्ली भ्रमण गराउने अभियानमा छन् ।

सुरुमा ओली भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण गराएर मात्रै आफू भारत भ्रमणमा जाने तयारीमा थिए, तर भारतीय विदेशमन्त्री सुषमा स्वराजले त्यो कुरा सम्भव नभएको बताएकी थिइन् ।

प्रधानमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एक महिन म्याद रहे पनि छिट्टै संसद्को बैठक बोलाएर विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली छन् ।

भारतीय प्रधानमन्त्री मोदीको तारन्तारको टेलिफोनपछि ओलीले माओवादी केन्द्रसँगको व्यवहारमा परिवर्तन ल्याएका छन् । भारतीय विदेशमन्त्री स्वराजको भ्रमणअघि र भ्रमणपछि ओलीले आफूमाथि गर्दै आएको व्यवहारमा आनको तानको फरक रहेको माओवादी अध्यक्ष प्रचण्डले आफू निकटस्थहरूसँग बताउने गरेका छन् ।

गत साता आफ्नो गृहजिल्ला चितवन भ्रमणका क्रममा प्रचण्डले कार्यकर्तासँग यस्तो गुनासो गरेका थिए । उनको भनाइ थियो– ‘चुनावको प्रारम्भिक परिणाम आउनासाथ सत्ता गठबन्धनको प्रस्ताव लिएर ओलीले आफ्ना दूतहरूलाई मधेसी दलसँग वार्तामा पठाएका थिए, तर मधेसी दलले नमानेकाले हामीलाई महत्व दिन थाले, तर भारतीय विदेशमन्त्रीसँगको भेटघाटपछि भने उनी मधेसी दलको समर्थन पाउने कुरामा ढुक्क हुँदै हामीलाई महत्व दिन छाडेका छन् ।’ एमालेले आफ्नो पार्टीलाई यसरी नै महत्वहीन व्यवहार गरिरहे छलाङ मार्ने अभिव्यक्ति प्रचण्डले चितवनमा सार्वजनिक रूपमै दिएका थिए ।

त्यो अभिव्यक्तिपछि उनलाई तत्काल एमाले नेता वामदेव गौतमले टेलिफोन गर्दै भने– ‘तपाईको यो अभिव्यक्तिले ओली रिसाउनुभएको छ, अहिलेसम्मको प्रयास बिथोलिन सक्छ, ओलीजीसँग अरु पनि विकल्प छन्, तपाईले तुरुन्त भेटेर करेक्सन गर्नोस् ।’ त्यसपछि प्रचण्ड सिधै काठमाडौं आए ।

एयरपोर्टबाट श्रीमती सीतालाई घरतिर पठाएर आफू ओलीसँग वार्ता गर्नुछ भन्दै सिधै हायात होटल पुगेका थिए ।  हायात होटलमा पुगेर टेलिफोन गर्दै ओलीलाई भने– ‘ओलीजी म यहाँ तपाईलाई कुरिरहेको छु ।’ स्थायी समितिको बैठकमा बसिरहेका ओलीले भने– ‘ म अहिले अलि विरामी छु, आउन सक्ने अवस्थामा छैन, एक दुई दिन तपाई फड्को मारिरहनुहोस्, अनुकूल समयमा भेटौंला ।’

ओलीले यतिभन्दा पनि प्रचण्ड ढुक्क थिए । फागुन ६–७ गते नभई निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाको निर्वाचन परिणाम बुझाउँदैन र ११–१२ गते नभई  गठबन्धन सरकारको बाटो खुल्दैन भन्ने कुरामा प्रचण्ड ढुक्क थिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग उनले पहिले नै यस विषयमा कुराकानी गरिसकेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले विदाको दिन अर्थात २ गते नै परिणाम बुझाउने थाहा पाएपछि प्रचण्ड झस्के । आफ्ना निकटस्थसँग उनले भने– ‘अयोधी मेरो मान्छे भनेको त भारतको मान्छे पो रहेछ ।’

फागुन ३ गते नै ओलीले राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको दाबी गर्न जाने र आफूले समर्थन नगरे मधेसी दलको समर्थन ओलीले लैजाने विश्लेषणमा प्रचण्ड पुगे । बाहिर देख्दा चीन समर्थक देखिए पनि ओली भित्री रूपमा भारतको मान्छे रहेको प्रचण्डले निकटहरुलाई बताएका छन् ।

उनले भन्न थालेका छन्– ‘हामी भारतीय चंगुलमा फसिसक्यौं, तत्काल एकीकरण गर्नु मेटासिट हो, एकीकरणभन्दा बाहिर रहनु मन्दविष हो, ओलीलाई सहज सत्ताका लागि भोलि भारतले हाम्रो पार्टी पनि फुटाइदिन सक्छ ।’

ईश्वर पोखरेल छक्किए– मन्त्रीका लागि एमालेमा दुई दर्जन नाम
प्रधानमन्त्री खड्गप्रसाद ओलीले महासचिव ईश्वर पोखरेललाई छक्याउँदै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि पार्टी अध्यक्षप्रतिको विश्वास संकट परेको एमाले नेताहरुले बताउन थालेका छन् । प्रधानमन्त्रीमा नियुक्त हुनु अघिल्लो दिनदेखि नै वरिष्ठ नेता माधव कुमार नेपाललाई साथमा लिएर हिँडेका ओलीले पोखरेललाई परराष्ट्रमन्त्रीका लागि तयार रहन निर्देशन दिएका थिए ।

राष्ट्रपति कार्यालयमा नपुगन्जेलसम्म पोखरेल र प्रदीप ज्ञवाली मन्त्रीको लिस्टमा भए पनि ज्ञवाली गृहजिल्लामा रहेका कारण उनी छुटे । तर, उपाध्यक्ष पोखरेललाई मन्त्री बन्न असफल रहे । पहिलो चरणमै मन्त्री नबनेपछि ओलीले गर्ने हरेक निर्णयमा पोखरेलले शंकाको दृष्टि लगाउने सम्भावना बढेर गएको भन्दै एमालेभित्र चर्चा चल्न थालेको छ ।

मन्त्रीका आकांक्षीको लर्को
पार्टी अध्यक्ष ओलीले सरकारको नेतृत्व लिएपछि मन्त्री बन्न नेताहरुको दौडधुप चलेको छ । मन्त्रीका लागि आकांक्षी धेरै भएपछि एमालेभित्र भागबन्डा मिलाउन कठिन परेको छ । अर्थमन्त्रीका लागि आकांक्षी धेरै देखिएका छन् । महासचिव पोखरेलदेखि उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसम्मले अर्थ मन्त्रालयमा रुची देखाएका छन् ।

ओली पहिलो पटक प्रधानमन्त्री बन्दा पौडेल अर्थमन्त्री थिए । उनी यसपटक दोहोरिन पाउँ भन्दै लुम्बिनीका नेता कार्यकर्ता लिएर ओली निवास बालकोट पुगेको एमाले स्रोतले जनायो । मन्त्रीका लागि प्रदेश १ बाट सचिव योगेश भट्टराईको पनिचर्चा छ ।

निर्वाचनको समयमा अध्यक्ष ओलीले ताप्लेजुङवासीलाई भट्टराईलाई जिताएर पठाउनुस्, म मन्त्री बनाउँछु भनेर आश्वासन दिएका थिए । हाल मन्त्री बनेका लालबाबु पनि प्रदेश १ कै हुन् । उनी मधेसी समुदायका नेता पनि हुन् । उनी र थममायाका बारेमा पार्टीभित्र खासै टिप्पणी र विरोध छैन ।

प्रदेश ३ बाट महासचिव पोखरेल र पाण्डे मन्त्री बन्ने सम्भावना छ । भक्तपुरबाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङ पनि मन्त्रीको लबिङमा छन् । तामाङ राप्रपा अध्यक्ष पशुपति शमशेर राणालाई पराजित गरेर सांसद बनेका हुन् ।

प्रदेश४ बाट युवा नेता रवीन्द्र अधिकारी मन्त्री बन्ने चर्चा एमालेभित्र छ । उनी २०६४, ०७० र ०७४ गरी तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद् हुन् । प्रदेश ४ बाटै कांग्रेस नेता रामचन्द्र पौडेललाई पराजित गर्ने किसान श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पदमा अर्यालको नाम चर्चा छ ।

प्रदेश ५ बाट उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवद्वय प्रदीप ज्ञवाली र गाकर्ण विष्टको नाम चर्चा छ । विष्ट यसअघि ऊर्जामन्त्री भएका थिए । प्रदेश ७ बाट भीम रावल र कैलाली ५ बाट निर्वाचित नारदमुनि राना पनि मन्त्री बन्ने लाइनमा छन् ।

काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेल, ओखलढुंगाका यज्ञराज सुनुवार, भानुभक्त ढकाललगायत मन्त्री या राज्यमन्त्री बन्ने दौडधुपमा छन्, तरुणमा उल्लेख छ ।

माओवादीसँग भागबन्डा मिलेपछि मात्र नयाँ मन्त्रीको टुंगो लाग्ने एमाले स्रोतहरुले जनाएका छन् । प्रधानमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रभित्र भने निरासा छाएको छ । अहिले माओवादीका अधिकांश नेता मनत्रीभन्दा पनि एमालेसँग सम्मानजनक एकता हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई सल्लाह दिइरहेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan