Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिवरात्रि तथा सेना दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, १ फागुन, नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा आज साँझ सैनिक मञ्च टँुडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सरिक हुनुभयो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, प्रधानसेनापति राजेन्द्र छत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष विपीन रावत सहभागी हुनुहुन्थ्यो । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुनुहुन्छ ।

सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो । सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा शान्ति सेनामा संयुुक्त राष्ट्र संघमा सहभागी भएको ६० वर्ष पुगेको अवसरमा नेपाली सेनाद्वारा विभिन्न मिसनमा भएको सहभागिताको झलक प्रस्तुत गरिएको थियो ।

सेनाले शिवरात्रिका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरी सेना दिवस भव्य रुपमा मनाएको छ । सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी राख्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण दक्षिण एशियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको इतिहास छ ।

वर्तमान सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरु भएकामा हालसम्म ४२ मिसन रही करिब एक लाख १९ हजार २०७ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ वटा शान्ति मिसन शिविरमा चार हजार ८३४ को संख्यामा नेपाली सैनिक अहिले तैनाथ छन् । नेपाली सेनाको हालको जनशक्ति झण्डै ९५ हजारको हाराहारीमा छ । पछिल्ला समयमा नेपाली सेना मुलुकभित्र विपद् व्यवस्थापन, प्रकृति संरक्षण र सडक विस्तारलगायतका पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ । RSS


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan