Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल मङ्सीर १२ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १२ मंगलबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । मङ्सीर महिनाको १२ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१७ नोभेम्बर महिनाको २८ तारिख ।
तथीः दक्षिणायन, हेमन्त ऋतु मार्गशीर्ष शुक्ल्पक्षको दशमी तिथी ।
योगः बज्र योग, २१ः३७ बजे पछि सिद्धि योग ।
नक्षत्रः पूर्वभाद्रपदा नक्षत्र, १३ः१३ बजेपछि उत्तरभाद्रपदा नक्षत्र ।
करणः तैतिल करण १७ः५५ बजेसम्म उपरान्त गर करण ।
चन्द्रमाः  कुम्भ राशिमा, ०७ः०५ बजेपछि मीन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः३६ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०६ बजे ।
राहुकालः१४ः२८ बजेपछि १५ः४७ बजेसम्म ।
यात्राः  पश्चिम दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अल्लि संघर्षकर रहेको देखिएको छ । साविकभन्दा बढी कोसिसले मात्रै ईच्छित कार्यमा केही सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु आज यहाँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । आवश्यकभन्दा बढी यात्रा हुनसक्ने सम्भावनालाई पनि गोचरले लक्षित गरेको देखिन्छ । संयमपूर्वक स्वकर्ममा लगनशील रहनाले केही लाभ हुनेछ । यहाँको लागि आज तीन अंक र पहेंलो रङ्गको प्रयोग एवम् श्री गणेशको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन लाभ तथा उपलब्धिमूलक गोचर परेको छ । पेशा एवं व्यवसायको क्षेत्रमा प्रगति हुने र आयआम्दानी बढ्ने छ । उद्यमधन्दाको विकास भई आर्थिक लाभ गर्नसकिने छ । आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्दा राम्रो उपलब्धि लिन सकिनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र औपचारिकता निर्वाह गर्न पर्नेछ । आफन्तिजनको शुभसमाचार सुन्न पाइने छ । आज तपाईँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने भगवान श्री गणेशको दर्शनभक्ति सबैको लागि उपयुक्त हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्नसकिने छ । सामाजिक प्रतिष्ठा बृद्धि हुनेछ भने यहाँमा भएको कलाकौशलताजन्य प्रतिभाले स्थान पाउनेछ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । आज यहाँलाई उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरुसँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्नेछ । यहाँको लागि आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने कूलदेवताको नाममा कुनै उपयुक्त वस्तु अर्पण गर्नु वा अनुष्ठान गर्नु वा नाममा दानदातव्य गर्नु विशेष पूण्यकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन भाग्यप्रद रहेको छ । सात्त्विक विचारको प्रभाव बृद्धि हुने तथा आस्थाको धरोहरको जग बलियो हुनेछ । धर्मकर्ममा अग्रसरताको बलले जनजीवनका विभिन्नपाटोमा समेत लाभ पुर्याउने छ । पेशा तथा व्यवसायिक कार्यमा समेत सफलता मिल्नाले स्तरबृद्धिको लागि आँट बढ्नेछ । जागिर तथा नोकरी आदिमा आएका असन्तुष्टिहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । साथ छाडेर पर गएका प्रेमि प्रमिका तथा साथसंगतिपनि पुनः नजिक हुनेछन् । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने भगावन गजानन्को दर्शन भक्ति तथा स्मरण गर्नु विशेष हितकर हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन संघर्षकर देखिएको छ । कामकार्यमा अबरोध सृजना हुने तथा स्वास्थ्यमा पनि प्रतिकूलता आउनसक्ने सम्भावना रहेको छ । आहारविहारमा विचार पुर्याउन जरुरी देखिएको छ । कसैकसैलाई असफल प्रेमको स्मृतिले सताउने जस्ता मनो समस्या बढ्नसक्ने सम्भावना छ । आत्मबलमा ह्रास आउनसक्ने भएकोले मानसिकरुपमा दृढतालाई बढाएर धैर्य गरी प्रतिकूल समय टर्न दिनु उपयुक्त हुुनेछ । ध्यानधारणा गर्नु विशेष हितकर हुनेछ भने आज यहाँको लागि आठ अंक, रातो रङ्गको प्रयोग र बाधाबिघ्न निवारणको लागि कुलायनदेवताको भक्ति गर्नु शुभ हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । दाम्पत्य सुख मिल्ने तथा विपरित लिङ्गीको सहयोग मिल्नेछ । युवायुवतीहरुको लागि प्रेम सम्बन्धको प्रस्ताव आउन पनि सक्ने सम्भावना रहनेछ । आन्तरिक तथा वैदेशिक यात्राको पनि सम्भावना देखिएले भ्रमण आदिको अवसर मिल्नसक्ने छ । व्यापार व्यवसायीले कर्मक्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । जागिर आदि र घरपरिवार एवम् कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनेछ । विभिद् सांसारिक उपलब्धि हुन गई मानसिक सुख एवम् शान्ति मिल्नेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख देखिए पनि विशेष मानिएको कार्यमा गन्तव्यचुम्न संघर्ष देखिएको छ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता बढ्दाबढ्दै पनि सो“चेकै कार्यमा सफलता हातपार्न अल्लि कठिन पर्ने देखिन्छ । दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्रालाई पनि गोचरले प्रोत्साहन गरेको छ, मान्यजन वा विरामी जनको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणको लागि गुरुगणपतिको भक्तिले अदृष्य रोकावट हट्ने छ भने पवनपुत्र हनुमानदेवको सेवा समर्पणले थप लाभसिद्ध हुनेछ । 


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन विद्वतता प्रकट गर्ने अवसर मिल्नेछ । बुद्धिबलको माध्यमाबाट मान्छेहरुको मन जित्न पनि सफल भइनेछ । समयको सदुपयोग गर्नसके अध्ययन तथा लेखनमा प्रगति हुने हुनाले वद्यार्थी वर्गले दिनको बढी फाइदा उठाउन सकिनेछ । गृहस्थीलाई सन्तानपक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्रबाट पनि फाइदा उठाउन सक्नुहुने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँलाई फाप सिद्ध हुनेछ भने अनाथ शिक्षा क्षेत्रमा सहयोग गर्नु पूण्यप्रद हुनेछ । साथै ऋद्धिसिद्धिपते गुरुगणपतिको स्तुति विशेष फलप्रद हुनेछ । 

 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा तपाईँले हठ नगरेकै राम्रो हुनेछ भने नयाँ प्रस्ताव पनि नराखेकै उचित । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिएला । चार अङ्क, सेतो रङ्गको उपयोग र आमा वा आमासमानकी मातृशक्तिबाट आर्शिवाद लिनु आज यहाँको लागि फापकर  हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन हिम्मतिलो र सक्रियभूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभएपनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनिसक्ने कुरालाई नकार्न सकिन्न । बा“की पक्षमा उत्साह–उमङ्गिलो दिन मान्नसकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइने छ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज गुरुजनको आर्शिवाद लिनु तथा श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग गर्नु वा उनीहरुलाई खुशी बनाउनुले मुख्यकाममा आउने अबरोध निवारणको लागि मद्दत गर्नेछ । 

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन दिनलाई सकारात्मक नै मान्न सकिन्छ तथापि हुनपर्ने जति काम हुनलाई ग्रहको केही अबरोध देखिएको छ । जसले गर्दा मुख्यकाम कार्यमा अल्लि कठिनाई भने पर्नसक्ने छ । त्यसको लागि केही उपाय अबलम्बन गर्नु उपयुक्त हुनेछ । बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्र पनि अनुकूल नै देखिएको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा सुधार आउनेछ । आज यहाँहरुको लागि दुई अंक, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने भैरवदेवको श्रद्धाभक्ति गर्नु हितप्रद हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अबरोध हुँदा हुँदैपनि केही लाभ एवम् सफलता हासिल गर्नसकिने छ । तथापि महत्त्वपूर्ण कार्य सम्पादन गर्न केही उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका केही कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ भने विभिन्न कारणबाट यहाँको आत्मबलमा आइरहेको ह्रासलाई निवारण गर्नको लागि भैरवदेवको स्तुति गर्नु शुभप्रद हुनेछ 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan